सूचनाको शक्ति - The Power Of Information

        

‘किस्ताबन्दी’ मा मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् पूर्णता दिन सकस परेको छ ।

सत्तारूढ नेपाली कांग्रेसको आन्तरिक विवादका कारणले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेन्।

१० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।त्यतिबेला पाँच वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालेका थिए ।

जनमत पार्टीबाट मन्त्री रहेका अब्दुल खानले मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्रीबाट राजीनामा दिएपछि सो मन्त्रालयसमेत प्रधानमन्त्री प्रचण्डले लिएका थिए ।

खानेपानी मन्त्रालय कांग्रेसलाई दिने आन्तरिक सहमति शीर्ष नेताबीच छ । सत्ता साझेदार कांग्रेस, जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्रको आन्तरिक समस्याका कारण प्रधानमन्त्री प्रचण्ड ‘किस्ताबन्दी’मा मन्त्रिपरिषद् विस्तार गर्न बाध्य छन् ।

‘यो बीचमा कहिले सत्तासाझेदार दल परिवर्तन हुने र नयाँ गठबन्धन बन्ने र सहकार्य गरेका दलहरूले मन्त्री हुनेको नामावली नदिँदा मन्त्रिपरिषद्लाई पूर्णता दिनमा ढिलाइ भयो ।

अब उपनिर्वाचनपछि मात्रै सरकारले पूर्णता पाउँछ’ प्रधानमन्त्री प्रचण्ड निकटका एक नेताले भने । स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय मन्त्रीविहीन छन् ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ०७:०५