सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा ९९ जनामा काेराेना सङ्क्रमण

पछिल्लो २४ घण्टामा देशभर ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय चार जनाको नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ५० जना काेराेना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसैबीच कोरोना सङ्क्रमण बढ्दै गएको र सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पनि बढेकाले सतर्कता उपनाउन डाक्टरहरूले सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरू स्वास्थ्य जाँच गर्न आइरहेका तथा अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरू बढेका बताउनुभयो ।

डा. पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरूले बेलैमा लगाउन पनि आग्रह गर्नुभयो । उहाँले कोरोना सङ्क्रमणलाई थप विस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाइ राम्रोसँग गर्न पनि सुझाव दिनुभयो ।

डा. पुनले बेलैमा स्वास्थ्यका मापदण्डसहित सतर्कता अपनाए थप क्षति बेहाेर्न नपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतवार १८:२१