अन्ततः वैशाख तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने तय भएको छ । प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गर्ने बताउँदै आएका प्रचण्ड वैशाख तेस्रो साता भारत भ्रमणमा जाने तय भएको हो ।
त्यसको तयारी गर्न प्रधानमन्त्री प्रचण्डले आज (आइतबार) परराष्ट्रमन्त्री नियुक्त गर्दैछन् । नेपाली कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा कांग्रेसले एनपी साउदलाई परराष्ट्र मन्त्री बनाउँदै छ । उनले आजै सपथ लिने कार्यक्रम छ । स्रोतका अनुसार शुक्रबार प्रचण्ड भारत जाने सहमति भएको थियो ।
त्यसका लागि प्रधानमन्त्री प्रचण्डले भारतसँग गोप्य सम्झौता गरेका छन् । सो सम्झौताका विषयमा केही पनि खुलाइएको छैन । यद्यपि नेपाली नक्सामा समावेश गरिएको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई ‘विवादित’ भूमि मान्दै यस्ता विवादित विषयमा द्विपक्षीय वार्ताको माध्यमबाट हल गर्ने भन्ने विषय समावेश गर्ने सहमति भएको छ ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालको नक्साबाट हटाउन लिएको अडानबाट भारत पछि हट्दै त्यसलाई विवादित भूमि मान्ने र द्विपक्षीय वार्ताको माध्यमबाट समाधान गर्ने भन्ने शब्द प्रयोग गर्न भारत तयार भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय भएसँगै तत्कालका लागि सत्ता जोगिएको छ ।
प्रधानमन्त्रीका रुपमा भारत भ्रमण जाने भन्दै प्रचण्डले चीनको बोआओ सम्मेलनमा भाग लिन गरेको नियन्त्रणलाई अस्वीकार गरेका थिए । शुक्रबार भारतीय पक्षसँग गोप्य सम्झौता गरेपछि प्रचण्डको भारत भ्रमण तय भएको छ भने तत्कालका लागि उनको सत्ता पनि जोगिएको छ । प्रचण्डको भारत भ्रमणको तय भए पनि उनले दिल्लीमा गएर के सम्झौता गर्ने हुन् भन्नेमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस सशंकित छ ।
आन्तरिक सुरक्षा चुनौतीको सामना गरिरहेको भारतले प्रचण्डको भारत भ्रमणका बेला भारतीय सुरक्षा छाताभित्र नेपाललाई पनि राख्ने सम्झौता त गर्ने होइनन् भन्ने चिन्ता कांग्रेस लगायत सत्ता सहयात्री दलहरुमा देखिएको छ । प्रधानमन्त्रीका रुपमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र संवैधानिक परिषद सम्बन्धी विधेयक अगाडि बढाउन नसक्ने भएपछि प्रचण्डले आफ्नो कार्यकालमा भारत भ्रमण गर्ने चाहना राखेका हुन् ।
सुरुमा चैत अन्तिमसम्म भारत भ्रमण गर्ने तयारी भएको बताएका प्रचण्डलाई भारतीय पक्षले चासो नदिँदा भारत भ्रमण हुन सकेको थिएन । यो बीचमा उनले विभिन्न च्यानलमार्फत भारतीय पक्षसँग सम्पर्क गरिरहेका थिए । अन्ततः भारत प्रचण्डलाई दिल्लीमा स्वागत गर्न तयार भएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं