सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार बनेर आएका तीन जनाद्वारा दुई नेताको हत्या

अपहरणको अभियोगमा दोषी ठहरिएका एक जना पूर्वभारतीय राजनीतिज्ञ र उनका भाइको गोली हानेर हत्या भएको छ । पत्रकार बनेर आएका तीन जना किशोरले प्रहरी घेरामै उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद उनका भाइ असरफलाई गोली हानेर मारेका हुन् ।

यहाँस्थित अस्पतालमा स्वास्थ्य परीक्षणका लागि ल्याइएका अहमद दाजुभाइ अस्पताल बाहिर पत्रकारसँग कुराकानी गरिरहेका बेला पत्रकारकै बीचमा रहेका ती तीन जनाले उनीहरूलाई टाउकोमा गोली हानेका थिए । घटना गएराति भएको हो ।

पूर्वसांसद् राजु पालको हत्यामा दोषी ठहरिएका उनीहरू साबरमती जेलमा कैद भुक्तान गरिरहेका थिए । आक्रमणकारी तिनैजनालाई पक्राउ गरिएको छ । अतिक अहमदविरुद्ध विगत दुई दशकमा अपहरण, हत्या र जवरजस्ती करणी लगायत दर्जनौँ मुद्दा दर्ता भएका थिए ।

स्थानीय अदालतले उनलाई अपरहण मुद्दामा गत मार्चमा जन्मकैदको सजाय सुनाएको थियो । अतिकले आफूलाई प्ररहीबाट असुरक्षा रहेको बताउँदै आएका थिए । अतिक र असरफलाई गोली हानेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ ।

दुई दिनअघि अतिक अहमदका छोरा असद तथा उनीसँगै रहेका उनका साथी गुलाम मोहम्मद झाँसीमा भएको प्रहरी कारबाहीमा मारिएका थिए । उनीहरूविरुद्ध उत्तर प्रदेश प्रहरीको विशेष कार्यदलले कारबाही गरेको थियो ।

मुख्यमन्त्री योगी आदित्य नाथले उक्त घटनाको उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिँदै तीन सदस्यीय न्यायिक आयोग गठनको घोषणा गरेका छन् । उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले उक्त घटनालाई अपराधको पराकाष्ठा भन्दै राज्यमा शान्ति सुव्यवस्था कायम गर्न अक्षम भएकामा राज्य सरकारको आलोचना गरेका छन् ।

काङ्ग्रेस नेत्री प्रियङ्का गान्धी, भारतीय कम्युनिष्ट पार्टीका नेता सीताराम यचुरीलगायत विभिन्न राजनीतिक पार्टीका नेताले हत्याकाण्डको निन्दा गरेका छन् । उनीहरुले राज्यमा जङ्गली राजलाई बढावा दिएको आरोप लगाउँदै मुख्यमन्त्री आदित्यनाथको आलोचना गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतवार १७:१९