सूचनाको शक्ति - The Power Of Information

        

देशभर डढेलो, डरलाग्दो गरी बढ्दै वायु प्रदूषण

हाल केहीदिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ ।

विभागका अनुसार अहिले पनि काठमाडौं उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको जनाएका छन् । काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको जनाइएको छ ।

आज बिहान ९ः३० बजेको हावाको गुणस्तर मापक सूचक (एक्यूआई)का अनुसार काठमाडौं दोस्रो सूचीमा छ । एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने १०० भन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । काठमाडौंको एक्यूआई अहिले १९२ छ । सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको जनाइएको छ ।

च्याङमाइको एक्यूआई २२२ छ । यसैगरी तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई ३०० भन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतवार १२:३९