सूचनाको शक्ति - The Power Of Information

        

‘द कपिल शर्मा शो’ बन्द हुँदै

भारतीय चर्चित कमेडियन कपिल शर्माको लामो समयदेखि प्रसारण हुँदै आएको ‘द कपिल शर्मा शो’ अब केही समयका लागि बन्द हुने भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार शोको अन्तिम एपिसोड जुनमा प्रसारण हुनेछ । शोका निर्माताहरुले छिट्टै नयाँ र रचनात्मक सोच लिएर आउने बताएका छन् ।

शोका संचालक कपिलले कामबाट ब्रेक लिएर परिवारसँग समय बिताउनका लागि विदेश भ्रमणमा जाने भएका छन् । यो ब्रेकले शोमा केही नयाँ र रचनात्मक परिवर्तन ल्याउन समय दिने र फेरि एकपटक नयाँ सुरुवात गर्ने निर्माताहरूले बताएका छन् ।

शोका निर्माताहरुले भने, ‘हामीले शोको अन्तिम मिति तय गरेका छैनौं तर मेमा नै छायांकन पूरा गर्ने प्रयास गर्नेछौं । शोको अन्तिम एपिसोड जुनमा देखिनेछ । यसैबीच कपिल पनि अन्तर्राष्ट्रिय भ्रमणमा जाँदैछन् ।

जसका कारण उनले अहिले ब्रेक लिइरहेका छन् । हाम्रो टोलीले कपिलले ब्रेक लिनुअघि केही एपिसोड शूट गर्नेछ किनभने कपिल कति समयसम्म ब्रेकमा बस्ने भन्ने निर्णय भइसकेको छैन ।’

यसअघि २०२१ र २०२२ मा पनि कपिलले लामो ब्रेक लिएका थिए । करिब ६ महिनाको ब्रेकपछि कपिल नयाँ कलाकारका साथ आफ्नो शोमा फर्किएका थिए । तर, पछिल्लो पटक कपिल शोमा फर्किएपछि कृष्ण अभिषेक र चन्दन प्रभाकर उनीसँगै फर्किएनन् ।

कृष्णले च्यानलसँग सम्झौतामा विवाद भएको कुरा गरे भने चन्दन यो शो भन्दा आफू नयाँ केही गर्न चाहेको बताए । ‘द कपिल शर्मा शो’ लाई सलमान खान र बानिजय एशियाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतवार ०८:१४