सूचनाको शक्ति - The Power Of Information

        

९५९ पटक ट्रायलमा फेल भएकी महिलालाई १८ वर्षपछि ड्राइभिङ लाइसेन्स

करिब १८ वर्षको पर्खाइपछि ६९ वर्षीया महिलाले अन्ततः ड्राइभिङ लाइसेन्स पाएकी छन् । चा सा–सुन नामकी महिला दक्षिण कोरियाको जेओन्जु निवासी हुन् । उनले ९६० पटक परीक्षा दिइन् र फेल भएकी थिइन्, तर यसपटक सफलता पाइन् ।

उनी ९५९ पटक फेल भइन् । उनले तीन वर्षसम्म हप्तामा पाँच दिन लगातार परीक्षा पनि दिइन् । सा–सुनले आफ्नो पहिलो लिखित परीक्षा अप्रिल २००५ मा दिएकी थिइन् । मिररको रिपोर्टका अनुसार उनले पछि हप्तामा दुई पटक लिखित परीक्षा दिन थालिन् ।

त्यो पास गरेपछि प्रयोगात्मक परीक्षाको पालो आयो, त्यसपछि उनले १० प्रयासपछि ड्राइभिङ परीक्षा पास गरिन् । समग्रमा उनले ९६० पटक परीक्षा दिनुपरेको थियो । र अहिले उनले ड्राइभिङ लाइसेन्स पाएकी छिन् ।

रिपोर्टका अनुसार सा–सुनले यो सबैमा ११ हजार पाउण्ड (करिब १८ लाख रुपैयाँ) खर्च गरिसकेकी छिन् । तरकारी बेच्ने काम गरेर परिवारलाई पाल्छिन् । यो व्यवसायका लागि उनलाई ड्राइभिङ लाइसेन्स चाहिन्छ, त्यसैले उनले कहिल्यै हार मानिनन् ।

उनका ड्राइभिङ इन्स्ट्रक्टरले अहिले आफूलाई राहत महसुस गरेको बताए । उनले भने, ‘जब उनको लाइसेन्स भयो, हामी सबै धेरै खुसी भयौँ र उनलाई अँगालो हाल्यौँ, फूल दिएका थियौँ । हाम्रो काँधबाट ठुलो बोझ हटेको महसुस भयो । हामीले उनलाई हार मान्न भन्ने हिम्मत गरेनौं किनभने उनी कडा प्रयास गरिरहेकी थिइन् ।’

सयौं प्रयास पार गरेर सा–सुन सेलिब्रेटी बनेकी छिन् । उनी कार कम्पनी हुन्डाईको विज्ञापनमा पनि देखिएकी थिइन् । दक्षिण कोरियाली कम्पनी हुन्डाईले उनलाई ११ हजार ६४० पाउण्ड मूल्यको कार पनि उपहार दिएको छ ।

कोरियाली ड्राइभर लाइसेन्स एजेन्सीका अनुसार ५० मिनेटको लिखित परीक्षामा सडक नियम र कार मर्मत सम्भार सम्बन्धी ५० बहुविकल्पीय प्रश्नहरू हुन्छन् । ७७५ औं पटक असफल भएपछि सा–सुनले फेब्रुअरीमा भनेकी थिइन्, ‘मलाई विश्वास छ कि यदि तपाईले निरन्तर प्रयास गर्नुभयो भने तपाईले आफ्नो लक्ष्य हासिल गर्न सक्नुहुन्छ ।’

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १८:३७