सूचनाको शक्ति - The Power Of Information

        

मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनटमै मन्दिर पुगिने

नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ ।

गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार आजदेखि सञ्चालनमा आएको हो ।

नयाँ वर्षको अवसर पारेर आजदेखि सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिनुभयो ।

केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नम्बर ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुको रूपमा यात्रा गर्नुभएको थियो ।

केबलकारमार्फत मौलाकाली मन्दिरसम्म पाँच मिनेटमै पुग्न सकिनेछ । झन्डै दुई किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् । अहिले केबलकारले दुईतर्फी मूल्य पाँच सय ५० रुपैयाँ कायम गरिएको शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार केबलकारले तीनदेखि चार फिटसम्मका बालबालिकाका लागि तीन सय ३०, विद्यार्थीका लागि चार सय १५, ज्येष्ठ नागरिकका लागि चार सय १५ र फरक क्षमता भएकाका लागि दुई सय ७५ रुपैयाँको टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र तीन फिटभन्दा कमका बालबालिकाका लागि निःशुल्क सेवा दिने जनाएको छ ।

आईएमई समूहको प्रवर्धनमा झन्डै दुई वर्षअघिदेखि निर्माण सुरु गरिएको केबलकारले आजदेखि नियमित सेवा सुरु गरेको शाहले बताउनुभयो । केबलकारको एउटा डब्बा (गोन्डुला) मा एक पटकमा आठ जना यात्रु चढ्न सक्ने व्यवस्था रहेको भन्दै शाहले केबलकारबाट पाँच मिनेटमा मन्दिर पुगिने बताउनुभयो ।

‘नेपालमा भित्रिएको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त केबलकार भएकाले यात्रुहरू पूर्णरूपमा सुरक्षित रहनुहुनेछ’, उहाँले भन्नुभयो, ‘अहिले हामीले बिहान ६ बजेदेखि केबलकार चलाउँछौँ, आवश्यकताअनुसार चौबिसै घण्टा सञ्चालन गर्न सकिन्छ ।’

केबलकारको बटम स्टेशनबाट अपर स्टेशनसम्म एक हजार दुई सय मिटर दुरीमा छ वटा टावर निर्माण गरिएको शाहले बताउनुभयो । यात्रु बोक्ने १२ वटा डब्बा (गोन्डुला), एउटा सामान बोक्ने तथा अर्को सर्भिसिङ डब्बा राखिएको उहाँको भनाइ छ ।

आईएमई समूहको ५१ प्रतिशत र स्थानीयको ४९ प्रतिशत लगानी रहने गरी स्थापना गरिएको केबलकार गैँडाकोट–१ धारापानीबाट चढ्ने र मन्दिर नजिक ओर्लने स्टेशन राखिएको छ ।

माथिल्लो स्टेशनसँगै ६० कोठा रहने गरी चार तारे होटल निर्माणको काम तीव्ररूपमा अगाडि बढेको पनि शाहले जानकारी दिनुभयो । केबलकारको निर्माण अस्ट्रियन कम्पनीले गरेको हो ।

सञ्चालनको पहिलो दिन नै पाँच हजारभन्दा बढी यात्रुले केबलकारको सेवा लिएका शाहको भनाइ छ । नयाँ वर्षको अवसर पारेर आजदेखि सञ्चालन गरिएको केबलकारको उद्घाटन भने केही दिनपछि गरिने उहाँले बताउनुभयो ।

स्रोत : रासस
प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १८:३८