सूचनाको शक्ति - The Power Of Information

        

नयाँ वर्षमा मात्र फुल्छ ‘सहलेश फूल’

धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको सिरहाको सहलेश फूलबारीमा रहेको रुखमा १ वैशाखमा मात्र फुल्ने फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको भिड लाग्ने गर्छ ।

फूलबारीभित्र रहेको राजा सहलेश र मालिनीको गहवर (मन्दिर)मा पूजाअर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रूखमा हरेक वर्ष नयाँ वर्षमा मात्र फुल्ने जनविश्वास छ । तराईका पासवान जातिको इष्टदेव मानिने सहलेशको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोग लगायतका रोगब्याधि नलाग्ने जनविश्वास छ ।

फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौंको संख्यामा दर्शनार्थीहरू आउने गर्दछन् । हरेक वर्षको १ वैशाखमा मात्र पूजा हुने सहलेश फूलबारीमा भव्य मेलासमेत लाग्ने गर्दछ ।

सहलेश गाथामा उल्लेख गरिएअनुसार तेह्रौं शताब्दीका लोकनायक सहलेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहे पनि प्रेम असफल भएपछि सहलेशको प्रतीक्षा गर्दै मालिनी मालाको रूपमा १ वैशाखमा फुल्ने गरेको सहलेश गहवरका पुजारी हरिसिंहदेव दनुवारले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १७:५२