सूचनाको शक्ति - The Power Of Information

        

विचार

भारतीय खेलामा रूमलिएको राजनीति

भारतीयहरूको हस्तक्षेपलाई कसैले पनि नकार्न सक्दैन । विदेशीको भूमिका बढ्दै गएको सबैले मान्दै र भन्दै आएका छन् ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले यसपालि प्रधानमन्त्रीको रुपमा धेरै काम गर्ने भनेका छन् । काम गर्न सके र काम गरेको देखाउन सके राम्रै हो । तर तीन महिनासम्म केही गर्न नसकेको सार्वजनिक रुपमा नै मानिसकेका छन् । उनीले जुन व्यवस्था खोजेको हो सो व्यवस्था त ल्याउन सकेनन् । सो कुरा उनी आफैले धेरै पटक प्रष्ट पारेका छन् । उनले खोजेको व्यवस्था निर्वाचित राष्ट्रपति हो । त्यसमा पनि उनले खोजेको एक दलीय शासन हो ।

जुन संसदीय व्यवस्था र बहुदलीय व्यवस्थाको विरोधमा उनीले युद्ध शुरु गरेका थिए सोही व्यवस्थामा पसेर काम गर्नुपर्दा उनीलाई ठुलो सकस भएको छ । संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था हो भनेर उनीले धेरै पटक भनिसकेका छन् । तर त्यही व्यवस्थालाई अगाल्नु पर्दा उनीलाई कम सास्ती भएको छैन । न काम गर्न पाइन्छ न विकास गर्न पाइन्छ न आफुले खोजेको तरीकाले काम गर्न पाइन्छ । तर उनले धेरै पटक यो व्यवस्थालाई नै कायम गर्नु पर्छ भनेर भनिसकेका छन् ।

भन्नुको तात्पर्य उनीले कुनै पनि व्यवस्थामा काम गरेको देखाउन खोजेका छन् । तर संसदीय व्यवस्थामा पसे पछि धेरै दायाँ बायाँ हेर्नु पर्ने रहे छ र यो व्यवस्था काम नलाग्ने रै छ भनेर उनले धेरै पटक महसुस गरिसकेको हुनुपर्दछ । काम नभए पनि मामसम्म पाइने रहेछ र यसलाई टिकाई राख्न आफ्नै स्वार्थको लागि पनि आवश्यक परेको रहेछ भनेर सबैले बुझिसकेका छन् । अब सवाल उठ्छ कसरी नेपाली जनताको प्रिय हुने र निर्वाचन बराबर जित्ने ? त्यसका लागि एक पटक पछाडि फर्केर हेर्नुपर्ने हुन्छ ।

भारतसित युद्ध गर्नका लागि ट्रेन्च खनेर देखाए । हुन त भारतसित कहिले पनि युद्ध गर्नु परेन तर भारतको डर देखाएकोमा नेपाली जनताले निको मानेका थिए । यही काम अहिले पनि गर्ने हो भने नेपाली जनताले उनलाई राम्ररी समर्थन गर्न सक्छन् । तर उनले सत्य कुरा बोल्नुपर्दछ । सत्य के हो भनेर नेपाली जनताले थाहा पाइसकेका छन् । पहिलो कुरा माआवादी युद्ध भनेको भारतबाट नै उठाइएको रहेछ । भारतमा भारतीय काँग्रेसको राज हुँदा यो युद्ध शुरु भएको थियो ।

त्यसपछि १० वर्ष सम्म यो नेपालमा चल्यो । त्यस बखत माओवादी नेताहरू भारतका विभिन्न ठाउँमा सुरक्षित बसेका थिए । यतिसम्म कि माओवादी लडाकुहरूलाई तालीम पनि त्यहीं दिइएको थियो । सो कुरा पछि आएर निर्विवाद साबित भयो । यसबारेमा भारतका कतिपय जिम्मेदार मानिसहरूले बोले र माओवादीहरूलाई सत्तामा पुर्याएको कुरा गरे । तर माओवादी दल र नेताहरूले यस कुराको खण्डन कहिले पनि गरेनन् । त्यसबाट सिद्ध भयो यो युद्ध भारतकै इच्छा र निर्देशनमा भएको थियो ।

यसको साथै एक जना जिम्मेदार भारतीयले भने कि नेपालमा राजतन्त्रको अन्त्य गर्न प्रचण्डलाई प्रेरित गर्न सबभन्दा धेरै समय लागेको थियो । राजतन्त्र कसरी नेपाली रंगमंचबाट गयो भनेर सबैलाई थाहा छ । तर त्यसको भित्री राज विस्तारै खुल्दै गएको हो । यो त अब इतिहास कै कुरा भयो । नेपालमा के के भयो सबै कुरा सबैलाई थाहा छ । तर भित्री भाग अझ बाहिर आउन बाँकी छ । तेस्रो कुरा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई भारतको दलाल नै भने ।

उनले भने, ‘मुस्ताङमा विश्वविद्यालय खोल्नु भनेको के हो ? मुस्ताङमा विश्वविद्यालय खोल्नु भनेको विदेशी दलाली हो । राष्ट्रियता माथि प्रहार हो । मित्र राष्ट्र चीन विरुद्ध गद्दारी हो । विश्वविद्यालयको नाउँमा अर्थोक नै गर्न खोजिएको हो ।’ यो कुराको खण्डन खुद प्रधानमन्त्री दाहालबाट पनि भएको छ । तर भारतीयहरूको हस्तक्षेपलाई कसैले पनि नकार्न सक्दैन । विदेशीको भूमिका बढ्दै गएको सबैले मान्दै र भन्दै आएका छन् ।

ओलीभन्दा एक कदम अगाडि गएर भारतले नेपालमा हस्तक्षेप गरेकै हो भनेर पुष्पकमल दाहाले भनि दिए भने नेपाली जनताले उनको प्रशंसा नगर्ने कुरै उठदैन । उनले बरु भारतले कसरी युद्ध शुरु गराएको थियो र उनी आफैले त्यस कुराको कसरी समर्थन गरेका थिए र नेपालको राजतन्त्र कसरी फालिएको थियो भनेर सबै विवरण नेपाली जनताको अगाडि राखिदिए भने उनका अनुयायीहरू अरु बढने थियो । हुन पनि अहिले भारतमा भारतीय काँग्रेसको राज पनि छैन । भारतमा अरु केही वर्षसम्म भारतीय जनता पार्टीकै राज रहने विश्वास गर्न सकिन्छ ।

त्यसैले होला भारतका प्रधानमन्त्रीको निमन्त्रणा नपाए पनि दाहाल भारतको भ्रमण छिटै जाने भनेर भन्दै छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि चीनको पहिलो भ्रमणलाई नकार्दै भारतको भ्रमण नै गरेको भनी भनियो । नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई सुरक्षित राख्न नेपाली जनताको भूमिका बढदै गएको देखिन्छ । यसको स्वतन्त्र अस्तित्वको कुरा गर्दा र यसलाई कसरी बलियो बनाउने भनी कुरा गर्दा भारत या चीन कसैले पनि नकार्न सक्दैन । यही कुरालाई आधार बनाएर नेपाली प्रधानमन्त्रीले कुरा गर्दा छिमेकी देश र अरुले पनि जाति नै मान्ने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीयहरूले कसरी आफ्नो प्रभाव नेपालमा बढाएका थिए भनेर भन्दा नेपाली जनताले त्यसमा पुरा विश्वास गर्ने छन् । त्यतिमात्र होइन नेपालले बल्ल एउटा राष्ट्रिय नेता पाएको महसुस गर्ने छन् र त्यही अनुसार समर्थन पनि गर्ने छन् । के नेपालका प्रधानमन्त्री भएका पुष्पकमल दाहालले यो काम गर्ने छन् ? यसमा भने ठुलै शंका लाग्न सक्छ । किनभने आजसम्म गरेका कुराकानी अनुसार उनीले भारतले गरेका भित्री गतिविधिहरू कहिले खुलाएका छैनन् । तर उनीसित भारतले गरेका सबै भित्री गतिविधिको विवरण छ । यो विवरण नै ठुलै हतियार हुन पनि सक्छ । नेपाली जनताको मन जित्ने तरीका यही हो ।

स्रोत : आइएनएस–स्वतन्त्र समाचार
प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १७:४०