सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसको आन्तरिक भागबन्डा सहमति नजिक

चैत्र १७ बाट सरकारमा सहभागी संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र मन्त्रालय संख्या लेनदेनको आन्तरिक भागबन्डा सहमतिनजिक पुगेको छ ।संस्थापनइतर समूहले तीन मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको हो ।

डा. शेखर कोइरालाको सचिवालयमा बिहीबार बसेको डा. शेखर–गगन थापा समूहको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा तीन मन्त्री र एक राज्यमन्त्री दिन सकारात्मक भएको विषयमा छलफल भएको हो ।

बैठकमा महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ८ मन्त्रालय पाएको कांग्रेसलाई थप १ मन्त्रालय दिने सम्भावना बढेको र आफ्नो समूहले दाबी गरेअनुसार तीन मन्त्रालय र एक राज्यमन्त्री दिन सभापति सकारात्मक रहेको सुनाउनुभएको संस्थापनइतर समूहका नेता सहमहामन्त्री जीवन परियारले बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘यस विषयमा हामी छलफलमै छौं । महामन्त्रीजीले सभापति संस्थापनइतर समूहबाट ३ मन्त्री र एक राज्यमन्त्री पठाउने विषयमा सकारात्मक रहनुभएको कुरा सुनाउनुभएको छ ।

तर, निर्णय नै भइनसकेकाले ठ्याक्कै भन्न त सकिन्न । यद्यपि, मोटामोटी हामीलार्ई ३ मन्त्री र एक राज्यमन्त्रीको कुरा भएको छ ।’ उहाँले मन्त्रीहरूक–कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफल पनि भइरहेकोे जानकारी दिनुभयो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार ०७:४३