सूचनाको शक्ति - The Power Of Information

        

बैजनाथवासीकाे लागि खुसीकाे खबर

बैजनाथ गाउँपालिकाले सर्बसाधारणको निःशुल्क मृगौला जाँच गर्दै

निःशुल्क ८ वटै वडाहरुमा जाँच गरिने

बैजनाथ गाउँपालिका क्षेत्रभित्र रहेका सर्बसाधारणको पिसाबद्धारा मृगौलाको प्रारम्भिक जाँच गरिने भएको छ । बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाको अगुवाईमा निःशुल्क रुपमा ८ वटै वडाहरुमा जाँच गर्न लागिएको हो ।

कार्यक्रम सञ्चालन गर्नुअघि यस विषयमा विभिन्न सरोकारवालासँग बिहीबार गाउँपालिका स्तरिय अन्तरक्रिया गरिएको छ । गाउँपालिकाका कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक भुमिसरा रानाको सभापतित्व एवम् उपाध्यक्ष निर्मला रोकायको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रोकायले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा कुनैपनि आँच आउन नदिने बताइन् । गाउँपालिका स्वास्थ्य क्षेत्रमा अत्यन्त सम्बेदनशिल भएर पिसाबद्धारा मृगौलाको प्रारम्भिक जाँच सम्बन्धी कार्यक्रम राखेको बताइन् ।

मृगौलासँगै थारु समुदायमा ब्याप्त रहेको सिकलसेल एनिमियाको उपचार अभियान पनि गाउँपालिकाले चलाउने प्रतिवद्धता ब्यक्त गरिन् । ‘हामी बाहिरबाट हेर्दा स्वस्थ देखिन्छौं, तर हामी आफ्नो स्वास्थ्यलाई केयर गर्दैनौं, समय समयमा हामीले आफ्नो स्वास्थ्य जाँच गराउन जरुरी छ,’ उपाध्यक्ष रोकायले भनिन् ।

सो क्रममा बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, नेपाली काँग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, नेकपा एमालेका पार्टी प्रतिनिधि प्र्रेम सुवेदी लगायतले आफ्नो धारणा राखेका थिए ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक लक्ष्मण शाहीले पछिल्लो समयमा मृगौला सम्बन्धी समस्या भएका बिरामीको संख्या बढ्न थालेकाले परिक्षण कार्यक्रम राख्न लागिएको बताए ।

‘अहिले सुरुमा पिसाबद्धारा मृगौलाको प्रारम्भिक जाँच गर्छौ, त्यसपछि विशेषज्ञ सेवासहित चेकजाँच कार्यक्रम गर्ने गाउँपालिका स्वास्थ्य शाखाको योजना छ,’ उनले भने ‘गाउँपालिकाको प्रत्येक स्वास्थ्य संस्थामा मृगौला जाँच गरिनेछ ।’

अन्तरक्रिया कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्य शाखा कर्मचारीहरु, स्वास्थ्य चौकीका ईन्चार्ज, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १८:३९