सूचनाको शक्ति - The Power Of Information

        

अझै उठेन सिंहदरबारको फोहोर

काठमाडौं महानगरपालिकाले पाँचौं दिनसम्म पनि सिंहदरबारको फोहोर उठाएको छैन । परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेका अनुसार महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को निर्देशनका कारण बिहीबार पनि सिंहदरबारको फोहोर नउठाइएको हो ।

सिंहदरबारसँगै प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति भवन शीतल निवासको फोहोर पनि आइतबारदेखि नै उठेको छैन । महानगरले नभनेसम्म आफूहरुले फोहोर उठाउन नसक्ने घिमिरेको भनाई छ । घिमिरेका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयबाट फोहोर उठाएर कम्पाउन्डभित्रै राखिएका छन् ।

बालेनले शनिबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका थिए । महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म फोहोर सिंहदरबारबाट नउठ्ने बताए । बालेनको अभिव्यक्तिको विषय मन्त्रिपरिषद्सम्म पुगेको थियो । बालेनको अभिव्यक्ति र फाहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको थियो ।

संघीय सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न सुझाव दिएको छ । गत मंगबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मेयर शाहलाई सुझाव दिएकी हुन् ।

संविधानको अनुसूची ८ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँदै उनले कुनै उद्देश्यपूर्तिका निमित्त र अर्को काम सल्ट्याउनका निमित्त हड्तालको विषय बनाउनु नहुने बताइन् । आफूले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने भन्दै मन्त्री शर्माले स्थानीय सरकार कानुनानुसार चल्नुपर्ने बताइन् ।

काठमाडौं महानगरपालिकाका शाहले दिएको सिंहदरवारसहित केही स्थानको फोहोर नउठाउने र सिंहदरवारका नेतालाई डम्पिङ गर्नुपर्ने अभिव्यक्तिलाई गैरजिम्मेवार भनेको थियो । साथै बिहीबार मन्त्री शर्माले उनको अभिव्यक्ति र निर्णयले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको बताएकी हुन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १७:१२