सूचनाको शक्ति - The Power Of Information

        

तलब भत्ता हिनामिना गर्ने दुई डिएसपीलाई कैद सजाय

कर्मचारीको तलब भत्ता अनियमितता गर्ने जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालिन दुई डिएसपी दोषी ठहर भएका छन् । हाल अवकाशप्राप्त प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्णबहादुर कुँवर र त्रिलोकबहादुर चन्दलाई बिशेष अदालतले बुधबार दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य यमुना भट्टराईको इजलासले बुधबार यस्तो फैसला गरेको हो । विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कुँवरलाई एक वर्ष नौं महिना कैद र लेखापाल रहेका प्रहरी नायव निरीक्षक माधव चन्द ठकुरीलाई एक वर्ष आठ महिना कैद सजाय हुने फैसला सुनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तलब तथा भत्ता बापतको रकम हिनामिना गरेको दाबीसहित एकै मितिमा दायर दुई मुद्दा लगाउमा राखेर सुनुवाई गर्दै आइरहेकोमा बुधबार फैसला सुनाएको हो । हुम्लाको प्रहरी कार्यालयमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ फागुन २०७६ मा मुद्दा दायर गरेको थियो ।

एउटा मुद्दामा कृष्णबहादुर कुँवरसमेत ९ र अर्कोमा त्रिलोकबहादुर चन्दसमेत ५ जनालाई प्रतिवादी कायम भएको थियो । कुँवरसमेत ९ जना प्रतिवादी रहेको मुद्दामा सजाय सुनाए पनि चन्दसमेत पाँच जना प्रतिवादी रहेको मुद्दामा भने ८ वैशाखमा सजाय निर्धारण हुने प्रवक्ता योगीले बताए । यी दुवै मुद्दामा प्रतिवादी बनाइएका प्रहरी नायव निरीक्षक माधव चन्द ठकुरी दोषी ठहर भएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १६:४९