कर्णालीको स्वास्थ्य सेवामा दरबन्दी अनुसारका कर्मचारीको चरम अभाव रहेको छ । कर्णालीमा ९०८ जना स्वास्थ्य क्षेत्रका कर्मचारी दरबन्दी छ । तर, हाल ४४४ जना कर्मचारी मात्र कार्यरत छन् ।
कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.रविन खड्काले बताए । ‘५४४ स्वास्थ्यकर्मीको दरबन्दी खाली छ,’ उनले भने, ‘जनशक्ति कम हुँदा भने अनुसारको सेवा दिन सकिएको छैन ।’
नेपालको संविधानमा एकल तथा साझा अधिकारका सूचीमा संघ, प्रदेश र स्थानीय तहको स्वास्थ्य सम्बन्धी अधिकार तथा दायित्व स्पष्ट रुपमा निर्धारण भएकोले तीनै तहका सरकारले स्वास्थ्य क्षेत्रमा साझा नीति बनाएर हल गर्नु पर्ने निर्देशक डा.खड्काले बताए ।
‘कर्णालीका गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्राधिकारको विषयमा आवधिक, वार्षिक, क्षेत्रगत योजनाहरु बनाउनुपर्छ,’ उनले भने, ‘यसरी योजना बनाउँदा संघ, प्रदेश सरकार र स्थानीय तहको नीति, लक्ष्य तथा उद्देश्यसँग तादात्म्यता कायम गर्न आवश्यक रहेको छ ।’
प्रदेशस्तरमा चिकित्साशास्त्रको उच्च शिक्षाका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भइसकेकाले त्यहाँबाट उत्पादिन जनशक्तिलाई कर्णालीका जनताको स्वास्थ्य हितमा परिचालन गर्न सकिने निर्देशक डा.खड्काले बताए ।
सत्यपाटी संवाददाता । कर्णाली