सूचनाको शक्ति - The Power Of Information

        

दुई करोडको अडियो प्रकरण

रास्वपा सांसद ढाकाकुमारले भने, ‘जनवरीमा भएको कुरा अहिले ल्याइयो’

आफूले बोलेको कुरा नै परस्पर विरोधी धारणा राखेका श्रेष्ठले अडियो भने आफ्नो नभएको दाबी गरेका छन् ।

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले जनवरीमा भएको कुराकानी अहिले ल्याएर रास्वपाविरुद्ध षड्यन्त्र भएको बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि दुई करोड मागेका श्रेष्ठले पार्टीलाई चुनावमा हराउने षड्यन्त्रका साथ अडियो बाहिर ल्याइएको बताए ।

आफूले बोलेको कुरा नै परस्पर विरोधी धारणा राखेका श्रेष्ठले अडियो भने आफ्नो नभएको दाबी गरेका छन् । उनले पार्टीका तर्फबाट गरिएको निलम्बनको भने स्वागत गरेको बताए ।

सांसद श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाहीलाई स्वीकार्ने बताएका छन् । उनले भने, ‘अहिले अडियोलाई जसले जहाँ पनि जसरी पनि सम्पादन गर्न सकिन्छ । अथेन्टिक अडियो होइन ।’ उनले आफूलाई फसाइएको पनि दाबी गरे ।

पार्टीलाई कमजोर बनाउन चुनावको मुखमा अडियो ल्याइएको उनको दाबी छ । ‘मलाई फसाइएको हो । अदालतबाट क्लिन चिट भएपछि आउँछु । पार्टीलाई चारतिरबाट प्रहार गरिएको सुनियोजित योजना हो । सबैले तीनै क्षेत्रका उमेदवारलाई भोट गर्नुहोला,’ उनले भने ।

यस्तै सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक भएपछि अदालत पुगेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा उनले आफू सार्वजनिक भएको अडियोविरुद्ध हिजो नै न्यायालय गइसकेको बताए ।

उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘म हिजो मात्रै न्यायालय गइसकेको छु । मेरा शुभचिन्तहरू, तपाईंहरू निश्चिन्त हुनुहोला, म न्यायालयमा आफ्ना कुरा राखेर क्लिन चिट ल्याएर यसरी नै प्रेस मिट गर्नेछु ।’

गत सोमबार मात्र ढाकाकुमारको सचिवालयले सार्वजनिक गरेको विज्ञप्तिमा अडियो सार्वजनिक गर्ने मिडियाविरुद्ध विद्युतीय ऐन, २०६४ अनुसार कडाभन्दा कडा कारबाहीको प्रक्रिया अगाडि बढाइने बताएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १८:१५