सूचनाको शक्ति - The Power Of Information

        

जनवरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीविरुद्धको षड्यन्त्र हो : ढाका

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् । उनले उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको जिकिर गरे ।

बुधबार पत्रकार सम्मेलन गरेर उनले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पनि सुनियोजित भएको दाबी गरे ।

‘यो अडियो केही पनि होइन, यो फसाइएको हो गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित योजना हो’ उनले भने ।

करिब ५ मिनेट लामो पत्रकार सम्मेलनमा उनले आफ्नो कुरा मात्र राखे । पत्रकारहरुको प्रश्नको जवाफ दिएनन् । पत्रकारहरुले जनवरीमा भएको कुराकानी भन्दै आफैंले स्वीकार गर्नुभयो नि भन्ने प्रश्न गरे पनि उनले जवाफ दिएनन् ।

श्रेष्ठले आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने दाबी गरे । अहिले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य पनि नरहेको भन्दै आफ्नो कारणले पार्टीलाई परेको असरप्रति क्षमा मागेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १८:०७