सूचनाको शक्ति - The Power Of Information

        

चीनलाई नटेर्ने ताइवानी राष्ट्रपति को हुन् ?

ताइवानकी राष्ट्रपति त्साइ इङ–वन अमेरिकाका सहयोगी देशहरू ग्वाटेमाला र बेलिजको १० दिने भ्रमणमा निस्किएपछि चीनले प्रतिक्रिया जनाएको छ । यी देशहरू ताइवानसँग कूटनीतिक सम्बन्ध भएका जम्मा १३ देशहरूमध्येमा पर्छन् । उनी जाँदा न्यूयोर्क र आउँदा लस एन्जलिसमा पनि छोटो समय रहनेछिन् ।

उनले अमेरिकी सभामुख केभीन मकार्थीसँग पनि क्यालिफोर्नियाँमा भेट गरेकी छिन् । मकार्थी अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपति पछि सबैभन्दा उच्च ओहोदाका पदाधिकारी हुन् । चीनले भने यो कदमलाई ‘उत्तेजक’ भन्दै उक्त टापु राष्ट्र वरपर लडाकु पानी जहाज पठाएको छ । ‘विश्वमा पुग्ने हाम्रो अठोटलाई बाहिरी दबाबले रोक्न सक्दैन,’ न्यूयोर्क उड्नुअघि कुनै पनि देशको नाम उल्लेख नगरी त्साइले भनेकी थिइन् ।

ताइवानले आफ्नै स्थान बनाउनुपर्ने उनका भनाइहरू ३० वर्षअघि उनी राजनीतिमा प्रवेश गरेयता नै आइरहेका थिए । ताइवान विश्वविद्यालयबाट कानुनमा स्नातक गरेकी त्साइ इङ–वनले सन् १९८०मा अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी थिइन् । विद्यावारिधि गर्न उनी फेरि सन् १९८४ मा लण्डन स्कुल अफ इकोनोमिक्स एन्ड पलिटिकल साइन्स पुगिन् ।

त्यहाँबाट उनले अन्तर्राष्ट्रिय व्यापार र प्रतिस्पर्धा सम्बन्धी कानुनमा विशेषज्ञता हासिल गरिन् । उनी ताइवानमा मार्शल कानुन अन्त्य गर्ने र प्रजातन्त्रको सुरुवात गर्ने पूर्व राष्ट्रपति ली दङ खोएकी अनुसरणकर्ता बनिन् । उनी १९९० को दशकको सुरुवातमै राष्ट्रपतिका व्यापार नीति सल्लाहकार भइन् । ताइवानलाई विश्व व्यापार सङ्गठनमा आबद्ध गर्नेबारे सन् २००२को छलफलमा उनी अग्रपङ्क्तिमा थिइन् ।

सन् २००० मा ताइवानको स्वतन्त्रता पक्षधर डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले राष्ट्रपतीय चुनाव जित्यो । त्यसअघि त्यहाँ चीन नजिक मानिने कोमिन्ताङले निरन्तर शासन गर्दै आएको थियो । चीनको गृहयुद्धमा कम्युनिस्टहरूबाट पराजित भएपछि यो शक्ति भागेर ताइवान द्विपमा पुगेको थियो । राष्ट्रपति चुन सोइ विआनले त्साइलाई चीनको मूलभूमि मामिला काउन्सिलको प्रमुख नियुक्त गरेका थिए ।

यो काउन्सिलको प्रमुख काम ताइवान र चीनबीच सम्बन्ध कायम गर्ने हो । सन् २००१ मा ताइवानी व्यवसायीहरूसँगको छलफलमा उनले कसरी चिनियाँ समकक्षीसँगको छलफल व्यवस्थापन गर्छिन् भन्नेबारे गरेको सम्बोधनलाई व्याख्या गर्दै स्थानीय सञ्चार माध्यमले उनलाई ‘नरम तर दृढ’ भएको बताएका थिए । त्यस बेलासम्म उनी स्वतन्त्र थिइन् । उनी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीमा सन् २००४ मा मात्रै आबद्ध भइन् ।

भद्र शैलीका कारण पनि उनी पुराना नेताहरूभन्दा अलग भइन् र राजनीतिमा युवाहरूलाई आकर्षित गर्न सफल भइन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा त्साइको जित पछाडि दुई वर्षअघिको ‘सनफ्लावर मुभमेन्ट’का कारण युवा र पहिलो पटक भोट दिन लागेका मतदातामाझ उनको लोकप्रियता रहेको बताइन्छ । चीन र ताइवानबीच अभूतपूर्व आर्थिक सहकार्यका लागि हुन लागेको व्यापार सम्झौताको विरोधमा सयौँ विद्यार्थी र युवा अभियानकर्मीले त्यहाँको संसद् घेरा हालेका थिए ।

यस्तो सम्झौताले ताइवानलाई बेइजिङको दबाबमा रहनुपर्ने जोखिम बढाउने प्रदर्शनकारीहरूको भनाई थियो । केही ताइवानी सञ्चारमाध्यमले ‘युवा विद्रोह’ नाम दिएको उक्त आन्दोलनपछि भएको चुनावमा २० देखि २९ वर्षका झन्डै तीन चौथाइ युवाहरूले भोट खसाले । त्साइ इङ–वनले ताइवानको पहिलो महिला राष्ट्रपतिको रूपमा इतिहास बनाइन् । उनले गरेको अर्को पहिलो काम डोनल्ड ट्रम्प राष्ट्रपति भएपछि बधाई दिने हो ।

सन् १९७९ मा वासिङ्टनले स्थापित गरेको ताइपेइको कूटनीतिक सम्बन्ध बेइजिङसँग मात्रै गर्ने अडान तोड्दै उनले ट्रम्पलाई बधाई दिइन् । अमेरिकाका राष्ट्रपति वा राष्ट्रपतिमा निर्वाचित भएका व्यक्तिका लागि ताइवानी नेतासँग सिधा संवाद गर्नु निकै अस्वाभाविक मानिन्छ । यो संवादलाई चीनले ‘सानो छल’को संज्ञा दिएको थियो । यसपछि उत्पन्न हुनसक्ने तनाव मत्थर गर्ने प्रयास गर्दै त्साइले निकट भविष्यमा आफूले कुनै पनि नीतिगत परिवर्तन नगर्ने बताइन् ।

‘किनभने हामी सबैले यो क्षेत्रमा स्थायित्वको महत्त्व देखेका छौँ,’ उनको भनाई थियो । सन् २०१९ मा उनले एउटा महत्त्वपूर्ण विधेयकमा हस्ताक्षर गरिन् जसले ताइवानलाई समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने पहिलो एसियाली राष्ट्र बनायो । उनको यो कदमको विश्वभर प्रशंसा भए पनि देशभित्रका यथास्थितिवादी विरोधीहरूले भने यसको विपक्षमा प्रदर्शनहरू गरे । अविवाहित र बालबच्चाविहीन रहने आफ्नो निर्णयबारे उनले बारम्बार प्रश्नहरूको सामना गर्ने गरेकी छिन् ।

राजनीतिक विषयले भरिएका उनका सामाजिक सञ्जालका पोस्टहरूमा बेलाबेला उनका घरपालुवा जनावरका तस्वीर र भिडिओ पनि आउँछन् । उनले पालेका चार वटा कुकुर र दुई वटा बिरालोलाई आफ्नो परिवार भन्ने गरेकी छिन् । त्साइ इङ–वन हुर्किएको परिवार दक्षिणी ताइवानबाट आएको हो । उनी सन् १९५६ मा एक तटीय गाउँमा ११ सन्तानमध्ये सबैभन्दा कान्छीको रूपमा जन्मिएकी थिइन् । उनका बुबाका चार जना श्रीमती थिए ।

उनले घरका सबै सन्तानलाई खुसी राख्ने आफ्ना बुबाको खुबीबारे सञ्चारमाध्यममा बोलेकी पनि छिन् । चीनको राज्य सञ्चालित सिन्ह्वा समाचार संस्थाले एकताका उनलाई ‘परिवार र बालबच्चाको मायाको अतिरिक्त बोझ नभएकी एकल महिला राजनीतिज्ञ’ भनेको थियो । ‘त्यसकारण उनका राजनीतिक शैली र रणनीतिहरू प्रायः भावनात्मक, व्यक्तिकेन्द्रित र चरम हुन्छन् ।’

उनलाई सन् २०१९ को चुनावी अभियानमा पनि एक जना विपक्षी नेताले बालबच्चाविहीन भएकोमा आलोचना गरेका थिए । उनले त्यसको जवाफ फेसबुकमा दिइन् । ‘कसैले मलाई आफ्नो बच्चा नभएका कारण बालबच्चाको चिन्ता लिने अभिभावकको मर्का नबुझ्ने भनेछ । म महिला भएकोमा, अविवाहित भएकोमा र बालबच्चाविहीन भएको कुरालाई बारम्बार मुद्दा बनाइने गरिएको छ । सार्वजनिक सेवामा रहेका धेरै महिलाजस्तै म पनि दोब्बर बढी मेहनत गरेर आफूलाई प्रमाणित गर्न चाहन्छु,’ उनले भनिन् ।

‘तर समय परिवर्तन भइरहेको छ र ताइवान अघि बढिरहेको छ । बच्चा भएको र नभएको कुराले आगामी पुस्ताको लागि सेवा गर्ने हाम्रो प्रणलाई प्रभावित गर्दैन ।’ कार्यभार सम्हालेयता आफूले ताइवानलाई चीनकै अङ्ग स्वीकार गर्न बेइजिङले अघि सारेका प्रस्तावहरू अस्वीकार गर्दै आएको उनी बताउँछिन् । ताइवान अहिले नै सार्वभौम देश भएको भन्दै उनी यसलाई स्वतन्त्र देशको रूपमा घोषणा गरिरहन जरुरी नभएको दाबी गर्छिन् ।

सन् २०१९को अप्रिलमा चीनले सैन्य अभ्यासको लागि भन्दै सैन्य पानीजहाजहरू, बमवर्षक र निगरानी विमानहरू ताइवान पठाउँदा उनले त्यसको प्रतिवाद गरिन् । ‘यस्ता कदमले हाम्रो प्रणलाई अझै मजबुत बनाउँछन्,’ उनले भनिन् । सन् २०१९ मा हङकङभरी चीन विरोधी प्रदर्शन चर्किँदा उनले ‘एक देश दुई प्रणालीको असफलताका कारण हङकङ अराजकताको सङ्घारमा रहेको’ ताइवानी जनताहरूलाई सम्झाइन् ।

‘अझै पनि चीनले यही प्रणाली हामीमा लागु गर्ने धम्की दिइरहेको छ । जब स्वतन्त्रता र प्रजातन्त्रमा चुनौती देखापर्छ र ताइवानको अस्तित्वमा धावा बोलिन्छ हामीले त्यसविरुद्ध खडा भएर आफ्नो प्रतिरक्षा गर्नुपर्छ,’ उनले भनिन् । उनले आफ्नो चुनावी अभियानमा पनि आफूलाई प्रजातन्त्र र स्वतन्त्रताका लागि मत दिन आह्वान गरेकी थिइन् । उनको दोस्रो कार्यकाल अन्त्यतिर आइपुग्दा ताइपेइ र बेइजिङबीचको तनाव पनि दशकौँ पछि सबैभन्दा उच्च भएको छ ।

गत अगस्टमा तत्कालीन अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणले चीनलाई क्रोधित बनाएको थियो । यसको प्रतिक्रियामा बेइजिङले यो टापु आसपासका क्षेत्रमा गोलाबारी सहितको सैन्य अभ्यास कैयौँ दिनसम्म जारी राख्यो । बेइजिङले त्साइ र अमेरिकी सभामुख मकार्थीबीचको भेटपछि ताइवान वरवरको समुद्रमा लडाकु पानी जहाज नै परिचालन गरेको विवरण आएका छन् । अमेरिकी विदेश मन्त्रालयले भने आफ्नो देशमा ताइवानका उच्च पदाधिकारीहरूले ट्रान्जिट बनाउने कुरा ‘नयाँ नभएको’ बताएको छ ।

उसले ताइवानसँगको अनौपचारिक सम्बन्धमा वासिङ्टनमा कुनै परिवर्तन नगरेको पनि दाबी गरेको छ । आफू राष्ट्रपति भएयता त्साइ इङ–वन अमेरिका उत्रिएको यो सातौँ पटक हो । उनको भ्रमण भन्दा केही दिनअघि मात्रै होन्डुरसले चीनसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । उनको कार्यकाल सुरु हुँदा २२ वटा देशहरूले यो टापुसँग कूटनीतिक सम्बन्ध राखेकामा हाल १३ वटा मात्रै छन् ।

स्रोत : बीबीसी
प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १४:४४