आहा ! कति रमाइलो थियो ऊसँगको साथ, समय र वातावरण । हामीबीच निकै प्रेम थियो । म उसलाई कति धेरै माया र सम्मान गर्थें, र गरिरहेकी छु । तर ऊबिना नै खुसी पनि छु । ऊसँग प्रेम सम्बन्धमा गाँसिएपछि मेरो जीवनमा उसका इच्छा र सपनालाई मात्रै समेटेको थिएँ ।
म त उसको सहयात्री भई जीवनको गन्तव्यमा पुग्न चाहेकी थिएँ । त्यो मन–मुटुमा आत्मविश्वासको बोटलाई मलजल गरिरहन चाहन्थेँ । पहिलो पटक यात्रामा सँगै भेटेको ऊ हेर्दै कति राम्रो राम्रो । अनि बच्चा, बुढापाका, तन्नेरी, तरुनी, अधबैंसे जो जस्तो ऊसँग त्यस्तै गरी बोली व्यवहार गर्ने ! म त त्यसै आकर्षित थिएँ ।
त्यसैले लुकी–लुकी हेर्दै मख्ख पर्दै थिएँ । मैले लुकी–लुकी उसलाई हेर्दै थिएँ, त्यति नै बेला उसले मलाई हेर्यो र मुसुमुसु हाँस्यो । त्यसपछि मैले नजर अन्तै मोडेको नाटक गरेकी थिएँ । अनुहार कलिलै थियो, तर पनि कति व्यवहारिक, परिपक्व ! कति माया देखाउन जानेको क्या ! जे होस् पोखरासम्म ऊसँग हेराहेरको यात्रा यादगार रहने वाला थियो ।
तर अचम्म, काठमाडौं आएर फेसबुकमा कोट–पाइन्ट सहितको गमक्क परेको प्रोफाइल अनि हरियालीले भरिपूर्ण चौरमा विजयकुमारको खुसी उपन्यास पढ्दै गरेको फोटोसहितको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ । ए ! उसले त मेरो बसको टिकट झर्दा टिपेर दिएको थियो । त्यति नै बेला नाम याद गरेको रहेछ क्यारे । अनि खुसी हुँदै फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेँ ।
हत्तपत्त फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्ने गरे पनि, कुरा नगर्ने बानी भएकी म ऊसँग कति खुलेर सहजै गर्थें । ऊ पनि धेरैजसो कुरा सेयर गर्थ्यो । दिनभरिका कुरा साँझमा सुनाउँथ्यौं, दुःखसुखका कुरा गर्थ्यौं । साँच्चै एकअर्काको बानी परेका थियौँ हामीले । मैले त उसलाई पहिलो भेटदेखि मन पराएकी थिएँ । उसले मलाई गल्ती हुँदा सम्झाउने, आत्तिँदा आत्मविश्वास जगाइदिने गर्थ्यो । म एक्लै हुँदा कुरा गर्ने साथी भेटाएकी थिएँ ।
अह ! साथी त होइन, मैले त साथीभन्दा माथि सोचेकी थिएँ । उसको मनमा पो मलाई कसरी राखेको थियो ! सम्बन्धको डोरी तन्काउँदा चुँडिएला कि भन्ने ख्याल नगरी प्रेम प्रस्ताव गरेकी मलाई कुनै ठोस उत्तर नआउँदा आत्म सम्मान गुमाएँ कि जस्तो पनि लाग्यो । तर केही समयपछि मैरै प्रेमिल शब्द पैँचो मागेसरी माया जताउँदा धेरै आश्चर्यचकित र खुसी पनि भएँ ।
ऊ अति व्यवहारिक, परिपक्व र सहयोगी थियो । मलाई ऊ प्रेमी सँगैसँगै अभिभावक जस्तै लाग्थ्यो । उसले गर्ने माया, तागत र सहयोगलाई लक्ष्यको बलियो आधार बनाएकी थिएँ । त्यति धेरै माया गर्ने मान्छे, मेरो जीवनको मैलेभन्दा बढी चिन्ता गर्ने मान्छेलाई आखिर के भयो ? मसँग विस्तारै झर्किने, रिसाउने, कुराकानी नगर्ने गर्ने थाल्यो । हामीबीच मनमुटाव कहाँबाट सुरू भयो थाहै पाइनँ ।
उसलाई मेरो संघर्षको यात्रामा किन साथ दिन मन लागेन, मैले बुझिनँ । मेरो अथाह माया, सम्मानले फेरि पनि मन जित्छु लागेको थियो तर म गलत रहेछु । मेरो साथी, उसको साली पर्नेले उसको विवाहको तस्बिर सेयर गर्दा छाँगाबाट खसेजस्तै भएँ । यसरी सपनालाई हकिगतमा बदल्न आँट दिनेले नै लत्याएपछि यात्रा कष्टकर बन्दो रहेछ ।
मेरो जीवनमा खासै ठूलो सपना त छैन, मात्र आफ्नो खुट्टामा आफै उभिन सकुँ । आफ्नो बलबुताले भ्याएसम्म अरूलाई सहयोग गर्न सकुँ । उसले छोडेपछि हातखुट्टा थरथराएको त पक्कै थियो, तर अगाडि बढेर सपना पूरा गर्ने अनि सामाजिक सेवा गर्ने मनको इच्छा शक्ति न थियो । त्यसैले हर हालतमा पूरा गर्ने लक्ष्यले अगाडि बढिरहेकी छु ।
मेरो भूपू प्रेमी, तिमीले आधा यात्रामै छोडे पनि मेरो जीवनमा आमूल परिवर्तन ल्याइदियौ । यो सबै सबैको लागि धन्यवाद । अहिले म जीवन बडो सन्तुष्टिका साथ बिताइरहेकी छु । म यी नै शब्द–शब्दहरूमा अनि प्रकृतिमा रमाइरहेकी छु । म एक्लै रमाउन जानेकी छु । त्यसैले एकदमै खुसी छु !
सवि अधिकारी । दाङ