सूचनाको शक्ति - The Power Of Information

        

मदरसा खारेज गर्दै नरैनापुर गाउँपालिका

‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ शुक्रबारदेखि बाँकेको नरैनापुर गाँउपालिकाको छ वटै वडामा एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु हुने भएको छ ।

नरैनापुर गाँउपालिकाको शिक्षा शाखामार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गर्न लागिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

मंगलबार शिक्षा समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शाहले विद्यालय भर्ना अभियानमा विद्यार्थीहरुको सहभागिता उत्साहजनक भए पनि असार नलाग्दै पुनः विद्यालय भन्दा बाहिर जाने गरेकोले विद्यार्थीहरुलाई टिकाउने गरी योजना बनाएर अगाडि बढन शिक्षा समितिलाई निर्देशन दिएका थिए ।

अध्यक्ष शाहले नामका लागि मात्र दर्ता रहेका मदरसाहरुलाई खारेज गर्ने बताए । नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जुनसुकै बहानामा विद्यार्थीहरु बिचमै बिद्यालय छोड्नु राम्रो नभएको बताए । यसका लागि सम्बन्धीत बिद्यालय र अभिभावकलाई गम्भीर बन्न उनको सुझाव छ ।

उनले विद्यार्थी टिकाउन र गुणस्तरीय शिक्षा दिन नसक्ने विद्यालयलाई कारवाही गर्ने जिकिर गरे । योजना शाखा प्रमुख प्रकाश अधिकारीले लोक सेवाबाट आएका शिक्षकहरुलाई मनपरी सहमति पत्र दिने काम बन्द गरी शिक्षाको गुणस्तर सुधार गर्नतर्फ केन्द्रीत हुन बिद्यालयका प्रधानाध्यपकलाई आग्रह गरेका थिए ।

शिक्षा शाखा प्रमुख कृष्ण थारुले विद्यालय जाने उमेर समूहका कोही बालबालिका पनि विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्दै भव्यरुपमा घरदैलो अभियान संचालन गर्न शिक्षाकहरुलाई निर्देशन दिएका थिए । शिक्षा शाखा प्रमुख थारुले मदरसा शिक्षालाई गाउँपालिकाले व्यवस्थित गर्ने तयारी गरेको बताउँदै २०८० को भर्ना अभियानमा असफल हुने मदरसा र विद्यालयलाई नियमानुसार कारवाही गर्ने जिकिर गरेका थिए ।

शिक्षा समितिका सदस्य एंव गाउँपालिका अध्यक्षका स्वकीय सचिव ब्रिजेन्द्र यादवले शिक्षा क्षेत्रमा हुने राजनितिलाई अन्त्य गरी गुणस्तरीय शिक्षा प्रदान गर्न तर्फ केन्द्रीत हुन सुझाव दिनु भएको थियो । उनले नरैनापुरमा ३० वटा मदरसा र २१ वटा बिद्यालयमा १२ हजार विद्यार्थी रहेको बताए ।

नरैनापुर गाउँपालिकाले स्कुल बस सञ्चालन गरेपछि विद्यार्थीको संख्या वृद्धि भएको शिक्षा समितिका सदस्य सन्तोष श्रीवस्तवले बताए । शिक्षा समितिको बैठकमा सहभागि शिक्षकहरुले कतिपय विद्यालयमा शिक्षकको अभाव र केही विद्यालयमा भवनको अभाव रहेको गुनासो गरे । गाउँपालिकाले आउने वर्षदेखि शिक्षक लागयतको समस्य हुन नदिने गरी तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार ०७:४६