सूचनाको शक्ति - The Power Of Information

        

संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन बीचको बाटो खोजिंदै

संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन कुन विधि र प्रक्रियाबाट अघि बढ्ने भन्नेमा प्रमुख सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल अलमलमा परेका छन् ।

सोही विधेयकलाई भोलिका दिनमा असहज नहुने गरी बीचको बाटोबाट सहमतिमा अघि बढाउने गरी समाधानको खोजी भइरहेको छ । प्रमुख तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीचमा मंगलबार सो विधेयकसहित संवैधानिक परिषद्सम्बन्धी विधेयक र संसदीय समितिलाई पूर्णता दिने विषयमा बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा छलफल भएको थियो ।

सोही छलफलमा सहमतिबाटै संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन सत्ता पक्ष र प्रमुख विपक्षी दल सहमत भए पनि विधि र प्रक्रियामा भने कुनै सहमति भएको छैन ।

यसअघि गत शनिबार नेकपा एमालेले फास्ट ट्रयाकबाट सो विधेयकलाई टुंग्याउे विषयमा कांग्रेस र माओवादी केन्द्रले राखेको प्रस्ताव अस्वीकार गरेको थियो । सो बैठकमा एमालेले संसदीय समितिबाट सो विधेयक’दयगत छलफल गराएर ल्याइनुपर्ने अडान लिएको थियो ।

तर, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाटै सो विधेयकलाई निर्णयमा पु¥याउनेगरी मुख्य दलबीच सहमति गरेर जान सकिने भन्दै थप छलफल गरेर अघि बढ्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए ।

त्यसयता एमालेलाई पकाउन कांग्रेस र माओवादी केन्द्रको प्रयास रहँदै आएको छ । मंगलबारको बैठकमा सहभागी कांग्रेस सांसद ईश्वरी न्यौपानेले संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन मुख्य तीन दल सहमत रहेको तर विधि र प्रक्रियाको विषयमा भने थप छलफल अघि बढ्न बाँकी रहेको बताइन् ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार ०७:२८