सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर शाहलाई सचेत गराउने निर्णय गरेको हो।
बैठकमा शितलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाका मेयर शाहको अभिव्यक्ति अव्यवहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शितल निवासको फोहोर नउठाउने भन्ने काठमाडौँ महानगरका प्रमुखको घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको बताइन्।
उनले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन्।
उनले भनिन्, ‘सिंहदरबार, बालुवाटार, शितल निवासको फोहोर नउठाउने भन्ने काठमाडौँ महानगरका प्रमुखले घोषणा गर्नुभएको विषय नीतिगत रुपमा काठमाडौँ उपत्यकाका फोहोर स्थानीय तहले उठाउने भन्ने नीतिगत व्यवस्था हो। त्यो नीतिगत व्यवस्था परिवर्तन भएको छैन।
त्यसैअनुसार यसलाई व्यवस्थापन गर्न छलफल गर्ने र त्यसो हुँदा पनि नभए नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने भन्ने विषयमा गम्भीर छलफल छ। उहाँको अभिव्यक्ति राम्रो छैन भन्नेकुरामा छलफल भएको छ।
नीतिगत रुपमा भएको व्यवस्थालाई सबैले पालना गर्नुपर्छ भन्ने कुरा भएको छ।’
सत्यपाटी संवाददाता । काठमाडौँ