सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उपमहानगर क्षेत्रका सामुदायिक कुकुरको बन्ध्याकरण

परिवार नियोजनका लागि मान्छेले स्थायी बन्ध्याकरण गर्ने कुरा अब सामान्य हुन थालिसकेको छ ।

तर, पशुपंक्षीको पनि बन्ध्याकरण गर्न थालिएको छ । पछिल्लो समयमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अत्यधिक रुपले सामुदायिक कुकुरको संख्यामा बृद्धि भएपछि उपमहानगरपालिकाले बन्ध्याकरण शिविर नै चलाउनु परेको छ ।

सुन्दा अनौठो लागेपनि नेपालगन्ज उपमहानगरपालिकाले उक्त शिविरलाई आफ्नो कार्यक्रममा प्राथमिकताका साथ राखेको पाइएको छ । उपमहानगरपालिका क्षेत्रभित्र रहेका कुकुरको बन्ध्याकरण गर्न सुरु गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका पशु सेवा शाखाको अगुवाई र एनिमल नेपालको प्राविधिक सहयोगमा बन्ध्याकरण शिविर चलिरहेको छ ।

स्थानीय रामलिला मैदानस्थित नारी विकास केन्द्रमा ६ दिनसम्म सञ्चालन हुने उक्त शिविरमा उपमहानगर भित्र रहेका दुई सय जति कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताइन् ।

कुकुरको संख्या बृद्धि रोक्ने र पशुजन्य विभिन्न रोगको संक्रमण नियन्त्रणका लागि सामुदायिक कुकुरको बन्ध्याकरण गर्न थालिएको उनले बताइन् । रेबिज रोग नियन्त्रण गर्ने उद्देश्यले उक्त शिविर आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार १९:२६