नुवाकोटमा प्रत्येक वर्ष सिन्दुरे जात्रा हेर्ने दर्शकको भिड लाग्छ । बैशाख कृष्ण द्धितीयाका दिन प्रत्येक वर्ष मनाइने सिन्दुरे जात्रा आज विभिन्न कार्यक्रम गरी मनाइयो । बिशेषगरी यो जात्रा देवीघाट बजार (सूर्यमती र गण्डकी) र नुवाकोट दरवार क्षेत्रमा धुमधामसंग मनाइन्छ । पृथ्वीनारायण शाहले २५ वर्ष प्रशासनिक अड्डा बनाएका कारण दोश्रो राजधानीको रुपमा परिचित छ । सांस्कृतिक केन्द्र नुवाकोट सम्पदा र संस्कृतिको भण्डार मान्न सकिन्छ । संघीय राजधानी काठमाण्डौं जस्तै बिभिन्न जात्रा नै जात्राको गाउ“भन्दा पनि फरक नपर्ला ।
जात्रा तथा पर्वहरुमा रमाइरहने नुवाकोट यतिवेला भने सिन्दुरे जात्राको उल्लासमा छ । सांस्कृतिक नगरी नुवाकोट जात्रामय बनेको छ । यसको मुख्य आकर्षणको केन्द्र रथ यात्रा र जीवित भगवानको रुपमा पुजिने धामीधमिनी नै हुन् । नेपालको इतिहासमा उल्लेख भएअनुसार साततले दरवारको दक्षिण तर्फ रहेको माता भैरवीलाई देशको रक्षक मानिन्छ । नेपाल–चीन युद्घ हुँदा श्री ५ रणबहादुर शाहले भैरवीको आराधना गरेका र दैवी शक्तिका कारण युद्धमा विजय प्राप्त गरेको भन्ने विश्वास इतिहासका ज्ञाताहरुले गर्दै आएका छन् ।
यही जितका कारण रणबहादुरले मन्दिरमा सुनको जलप लगाइएको छाना र गजुर चढाएको मानिँदै आएको छ । बहादुर शाहले मन्दिरको प्रवेशद्घारमा सुनको जलप लगाइएको ढोका चढाएका थिए भन्ने विश्वास पनि गरिन्छ । यसकारण देवी भैरवीलाई राजपरिवारले महत्वका साथ हेर्ने गर्दछन् । भैरवीको सिन्दुर यात्रा साँस्कृतिक रुपले अपरम्पार छ । देवी जात्रा अर्थात् सिन्दुरे जात्रालाई यस क्षेत्रमा विशेष महत्व साथ हेरिन्छ । हरेक चैत्रशुक्ल पूर्णिमाका दिन सिन्दुरे जात्रा धुमधाम साथ मनाइन्छ ।
तस्वीरहरु : सुवास श्रेष्ठ
यो जात्रा फागु पूर्णिमादेखि सुरु भएर महिना दिनसम्म चलिरहन्छ । फागु पूर्णिमाका दिनदेखि जात्राको तयारी गरिन्छ । र, यस दिनदेखि पुजारीहरुले जहाँ पायो त्यहाँ खाँदैनन् । यो जात्रा चलिरहँदा नारायण जात्रा पनि धुमधामका साथ मनाइन्छ । यो जात्रा घोडे जात्राको दिन र त्यसको भालिपल्ट गरेर दुई दिन चल्ले गर्छ । यसलाई मिनी सिन्दुरे जात्रा पनि भनिन्छ । अघिल्लो दिन नारायण देवता बेसी जाने र भोलिपल्ट नारायण देवता बेसीबाट फर्कन्छन् । सिन्दुरे यात्रालाई प्रत्येक बर्ष परम्परागत रुपमा सञ्चालन गर्नका लागि धामी (भैरवी मन्दिरका पुजारी) धमिनीका साथै द्घारे (सरकारका प्रतिनिधि), कुमार, गणेश, तथा गुठियारहरुको व्यवस्था हँुदै आएको छ ।
चैत्रशुक्ल चतुर्दशी (२२ गते) का दिन बेलु्का कुमारीको हातबाट लिएको धामीको स्नान कार्यसँगै जात्रा मुख्य बिधिबाट सुरु हुन्छ । बन्दुक पड्केको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई पोशाक पहिराइन्छ । सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो र जामा आदी भेषभूषामा धामी निकै भब्य र आकर्षक देखिन्छन् । त्यसपछि धामी आफ्नो निवासमा सगुन लिएर बाहिर निस्की दौडेर द्घारेको घरमा पुग्छन् । धामी दौडेको दृश्य रमाइलो र केही डरलाग्दो देखिन्छ । तान्त्रिक बिधिद्घारा बज्राचार्यले मन्त्रोचारण गर्ने र तदनुसार गुठियारद्घारा धामीलाई पुजा गर्ने गरिन्छ । र, बज्राचार्यद्घारा धामीधमिनीमा भैरवभैरवी चढाउने विधि गरिन्छ ।
यसप्रकार धामीधमिनीमा देवीको रुप धारण भइसकेपछि काँप्न थाल्दछन् । भैरवलाई चढाइएको महाबलीको जाँड पिउन धामी निकै डरलाग्दोसँग झम्टन्छन् । यसपछि मन्त्रोन्चारणका साथ बज्राचार्यले धामीलाई गाजल लगाइदिन्छन् । महाबलीको कार्य सम्पन्न भइसकेपछि बुढी भैरवी (देवी भैरवीको आमा) र भैरवी मन्दिरको पछाडि एक–एक वटा लिङ्गो गाड्ने गरिन्छ । लिङ्गो गाड्ने ठाउँ स्थायी छ, जुन लिङ्गोको लम्बाइ अनुसार त्यति गहिरो छैन । पहिले लिङ्गो गाड्ने काम स्थानीय ब्यक्तिहरुबाट हुन्थ्यो । केही बर्षदेखि नेपालि सेनाद्घारा गाड्ने गरिएको छ । सामान्य बुद्घि लगाएर लिङ्गो गाड्न सकिँदैन । लिङ्गो गाड्ने बेलामा धामी खाल्टोसँगै भैरवीको रुप धारण गरी आसन जमाएर बसिरहनुपर्दछ ।
यो अवधि धामीको लागि कष्टकर हुन्छ । तर भैरवीको शक्तिका कारण केही नहुने विश्वास गरिन्छ । यो लिङ्गोहरु वैशाख कृष्ण नवमी (बैशाख १) र दशमी (बैशाख २) का दिन क्रमशः ढालिन्छ । चैत शुक्ल पूर्णिमाको दिन (२३ गते) विहान धामीलाई गणेशको घरमा भोज खुवाइन्छ । त्यसपछि द्घारेद्घारा धमिनीलाई साततले दरवारको बैठक कक्षमा बस्त्र प्रदान गरिन्छ । हाल साततले दरवार भूकम्पले क्षती पुगेर टेकोको भरमा अड्याएर राखिएकाले त्यस दरवार बाहिर प्रदान गरिने गरिएको छ । धामी, कुमार, गणेश र अन्य खलकीहरुलाई पगरी (फेटा) दिइन्छ । जात्रा सकिएपछि गणेशलाई प्रदान गरिएको पगरी फिर्ता लिइन्छ । धामीधमिनी आफ्नो निवासतर्फ लाग्छन् । केही बेरपछि विशेष बाजागाजा साथ धामीधमिनी र गणहरुलाई तलेजु मन्दिरतर्फ लगिन्छ ।
तलेजु भवानी भूकम्पले तहसनहस बनाएपछि र बर्खाको पानीले ढलेको छ, यसले गर्दा बाहिर कटेज बनाएर राखिएको छ । त्यहाँ बज्राचार्यद्घारा आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो जात्रा भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि सूर्यमती र गण्डकीको संगमस्थल देवीघाट (जालपा मन्दिर)तर्फ प्रस्थान गर्दछन् । खटमा भैरवभैरवी र अष्टमातृकाका मूर्तिहरु राखिएको हुन्छ । त्यो खटलाई लच्याङ्गका तामाङ्गहरुले बोक्छन् । यो यात्रा धरमपानी, बट्टार, माझीटार र ठूलो बगैँचा हुँदै देवीघाटमा पुर्याइन्छ । भैरबीको बिर्तामा बसेको कुमालहरुले बाराही मन्दिरदेखि नै भव्य पूजाआजा तथा रथ बोक्ने कार्य गर्दछन् । देवीघाटमा बज्राचार्यद्घारा विशेष अनुष्ठान गरी राति धामीलाई राँगा, बोकाको भोग दिइन्छ । अन्त्यमा माछाको भोग दिइन्छ ।
देवता चढेका धामीबाट आउँदो सालको भविष्यवाणी हुन्छ । यो भविष्यबाणी सुन्ने अवसर गुभाजु, द्घारे, बाह्रभाइ खलक आदिलाई मात्र प्राप्त हुन्छ । उल्लेखनीय बाणीलाई पहिले राजदरवारमा द्घारे (महेन्द्रकुमार शाही) मार्फत पुर्याइन्थ्यो भने हाल राष्ट्रप्रमुख समक्ष पुर्याउने गरिन्छ । प्रतिपदाको दिन (२४ गते) देवीघाटको मेलासकिएपछि धामीधमिनी लगायत अन्य गणहरु बाजागाजासाथ रमाइलो यात्रा गर्दै नुवाकोट डाँडा तर्फ लाग्छन् । माझीटार, बट्टार हँुदै नुवाकोटको धरमपानीमा पुगेपछि धामीधमिनीको पूजा गरिन्छ र भोज खुवाइन्छ । भोलिपल्ट अथवा द्घितीयाको दिन (२५ गते) धरमपानीमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरुको उपस्थितिमा दुई सलामी (निशान झण्डा र भैरवी सलामी) बढाईँ दिइन्छ ।
त्यस्तै साततले दरवार अगाडि र तलेजु भवानीमा पनि सलामी बढाईँ गरिन्छ । बढाईँ सकिएपछि रथ उठाएर धामीधमिनीको यात्राका साथ सैनिकहरुको संलग्नतामा बन्दुकको आवाजमा बाजागाजा सहित धुमधामसँग यात्रा गर्दै धरमपानीबाट तलेजु भवानीको मन्दिरतर्फ लागिन्छ । यो यात्रा देवी भैरव्ी मन्दिर दक्षिणतर्फ रहेको महिषासुर (दुर्गा) मन्दिरको अगाडि बजा्रचार्यले बिशेष पूजाआजा गरेपछि विजय उत्सवको रुपमा द्घारेले धमिनीलाई सिन्दुर हालिन्छ र, यसले सिन्दुरे जात्राको रुप लिन्छ । किंवदन्ती अनुसार जालपा देवी–भैरवीको दिदी)आएको अवसरमा सिन्दूरे जात्रा गरी अर्ष बढाई गरिएको मानिन्छ । बिशेष बावामा नाच्दै रमाउँदै चिराग लिएर नाइकेको अनुमतिमा रथ उचालेपछि यात्रा तुलजा भवानीतर्फ लम्कन्छ ।
तलेजाकोे कार्यक्रम सकिएपछि त्यो समूह पुनः भैरवी स्थानतर्फ फर्कन्छ । रथलाई भैरवी मन्दिरको पछाडि डबलीमा राखेपछि धामीधमिनी आफ्नो निवासमा भित्रिन्छन् । भोलिपल्ट अर्थात (२६ गते) बिहान झिसमिसे हुँदा भैरवी मन्दिरको पछाडि राखिएको अष्टमार्तकाको खट अगाडी डबलीमा धामीलाई सरकारी वकिलतर्फबाट २ वटा रा“गा र १ वटा कालो बोकाको विशेष भोग ख्वाइने गरिन्छ । यस अवसरमा बढाईँ गरिन्छ । देवताको रुप धारण गरेका धामीले राँगा, बोकाका रगत पिउँछन् । रगत पिउन धामी डरलाग्दो गरी झम्टन्छन् । यो दृश्य हेर्दा एकदम पीडा बोध हुन्छ । बैशाख कृष्ण अष्टमीका दिन बाहिर खटमा रहेका देवीदेवताका मूर्तिहरुलाई मन्दिरमा पुनस्र्थापन गरिन्छ । बाह्रभाइ खलकीद्घारा मन्दिरमा क्षमा पूजा समापन भएपछि देवी जात्रा समाप्त हुन्छ । यसपछि पनि स–साना जात्रा भइरहन्छन् ।
देवी जात्रा तान्त्रिक बिधिद्घारा मनुष्यमा दैवीशक्ति धारण गर्ने काम सफल भएको खुशियालीमा उत्सवको रुपमा मनाइने परम्परा छ । सिन्दुरे जात्रा कहिलेदेखि मनाउन थालिएको हो भन्ने एकीन प्रमाण भने भेटिएको छैन । धार्मिक, साँस्कृतिक, ऐतिहासिक, भौगोलिक हरेक दृष्टिले महत्वपूर्ण छ नुवाकोट । यहाँका अनेकौँ देवी देवता, साँस्कृतिक रितिरिवाज, कलात्मक मन्दिर, ऐतिहासिक गाथा, पुरातात्विक दरवार, प्राचिन बस्तुहरु भूकम्पले ध्वस्त बनायो । तर पनि यी स्थल स्वदेशी तथा बिदेशी पर्यटकहरुको ध्यान तान्न अझै सक्षम छन् । यसतर्फ स्थानीय सरकार तथा जनप्रतिनिधिहरुले ध्यान जानु जरुरी छ । देश र समाजको एकता र प्रगतीको लागि एक अर्काको संस्कार र संस्कृतिलाई आत्मसाथ गर्दै सम्मान गर्नु हामी सवैको दायित्व हो ।
रिना खनाल । नुवाकोट