सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा उपनिर्वाचन

पार्टीभित्र असन्तुष्टि चुलिएपछि उपनिर्वाचनमा एमाले ‘क्लीन स्वीप’ !

गत निर्वाचनको परिणाम मात्रै होइन, अहिलेको चुनावी माहोल पनि एमालेको पक्षमा छैन । बालकोटको हस्तक्षेपले एमालेका स्थानीय नेता तथा कार्यकर्ता निराश छन् ।

वैशाख १० गते हुने ‘मिनी जनमत संंग्रह’को रुपमा हेरिएको उपनिर्वाचनमा सबैको ध्यान केन्द्रित भएको छ । उपनिर्वाचनमा सत्तारुढ गठबन्धन र रास्वपा तथा जनमत पार्टीका उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

एमालेसहित अन्य दल र स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । सत्तारुढ गठबन्धनले वडा तहसम्मै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेता सम्मिलित निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

रास्वपाले पनि भएभरको शक्ति निर्वाचनमा लगाएको छ । गत मंसिर ४ को निर्वाचनबाट आएका रास्वपा र जनमत पार्टीको असली चुनावी यही हो । अहिले प्राप्त मतले यी पार्टीको भविष्य निर्धारण हुने विश्लेषण गरिएको छ ।

यता, नेकपा एमाले भने, आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने त परैको कुरो गत मंसिर ४ गतेको निर्वाचनमा एमालेलाई प्राप्त मत जोगिने कि नजोगिने भन्ने अवस्थामा रहेको छ । उपनिर्वाचनको परिचालन र व्यवस्थापनमा समेत अध्यक्ष केपी शर्मा ओलीले मनोमानी गरेपछि एमालेभित्र असन्तुष्टि चुलिएको छ ।

पार्टीभित्र समस्या भएको ठाउँमा समाधान नखोजी सिधै बालकोटबाट गरिएको निर्णयका आधारमा अगाडि बढ्दा चुनावी माहोल नै खल्लो बनेको छ । गत निर्वाचनको परिणाम मात्रै होइन, अहिलेको चुनावी माहोल पनि एमालेको पक्षमा छैन ।

चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । राजनीतिक दल र उम्मेदवार निर्वाचन प्रचारप्रसारमा छन् । गत मसिर ४ गतेको निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि सांसद पद खारेज भएको थियो ।

लामिछाने नागरिकता पुनः प्राप्त गरी चुनावी मैदानमा उत्रिएका छन् । यो क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतका उम्मेदवार छन् ।

उम्मेदवारदेखि निर्वाचन परिचालन र व्यवस्थापन टिम नै बालकोटले खटाएपछि एमालेका स्थानीय नेता तथा कार्यकर्ता निराश छन् । मंसिरको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको एमालेले यसपटक रामप्रसाद न्यौपानेलाई उठाएको छ ।

न्यौपाने उक्त निर्वाचन क्षेत्रका बासिन्दा होइनन् । तर, त्यहीँका बासिन्दा र अघिल्ला निर्वाचनहरूमा पार्टीको प्रतिवद्ध मतभन्दा बढी मतका साथ निर्वाचन जितेका पोखरेललाई पाखा लगाइँदा उनी पक्षका एमाले कार्यकर्ता चुनावी अभियानमा सरिक भएनन् ।

त्यसमाथि जिल्लामै पार्टीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, देवी ज्ञवालीसहितका थुप्रै सिनियर र लोकप्रिय नेता हुँदाहुँदै बालकोटबाट गोकुल बाँस्कोटालाई चुनावी कमाण्डर तोकिएका कारण परिचालन र व्यवस्थापनका काममा समस्या आइरहेको स्रोतले बताएको छ ।

सुरुका दिनमा उपाध्यक्ष पाण्डे चितवनमै थिए । तर, गोकुलको सक्रियता बढेपछि उनी चुनावी अभियानमा देखिएका छैनन् । गोकुलले निर्वाचन हार्ने र कांग्रेसले जित्ने स्थिति भएमा रवि लामिछानेलाई मतदान गर्ने गरी आन्तरिक तयारी थालेको स्रोतले बताएको छ ।

एमालेको भोट घण्टीलाई हाल्नुपर्छ भन्ने उनको ‘मन्त्र’ सुन्ने एमालेहरूको भागाभाग शुरु भइसकेको छ । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डरका रुपमा तोकेको छ । चितवनमा हालसम्मको स्थितिअनुसार एमालेको तुलनामा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार रहेका कांग्रेसका जितनारायण श्रेष्ठ बलियो देखिएका छन् ।

रविको पक्षमा मंसिरको जस्तो लहर देखिएको छैन । त्यसमाथि यसपटक एमाले र कांग्रेसले आ–आफ्ना प्रतिवद्ध मत तथा मतदातासँग बाक्लो सम्पर्क बढाएका छन् । तसर्थ, रविको मत घट्ने निश्चित देखिन्छ । घटेको मतले उनलाई हराउँदा कांग्रेसका जितनारायणले निर्वाचन जित्ने स्थिति छ । हालसम्मको चुनावी परिदृश्यलाई नियाल्दा एमाले तेस्रो हुनेमा कुनै शंका छैन ।

यसअघि पनि चितवन क्षेत्र नम्बर २ मा एमाले तेस्रो भएको थियो । गत निर्वाचनमा स्वतन्त्र पार्टीका लामिछानेले ४९ हजार ३००, कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । स्वतन्त्र पार्टीबाट लामिछाने फेरि चुनावी मैदानमा उत्रिँदा कांग्रेस र एमालेले नयाँ उम्मेदवार मैदानमा उतारेका छन् ।

एमाले चुनावी अभियानको सबभन्दा निराशलाग्दो वातावरण बारा क्षेत्र नम्बर २ मा देखिएको छ । त्यसै पनि एमाले कमजोर भएको उक्त क्षेत्रमा एमालेका पूर्वनेताहरू सबै एकीकृत समाजवादीमा छन् । ७० प्रतिशत मधेसी समुदायको बसोबास रहेको सो क्षेत्रमा एमालेले पहाडे समुदायबाट पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।

सुरुमा एमालेले ईश्वर पोखरेललाई खटाएर चुनावी माहोल तताउन खोजेको थियो । तर, स्थानीय कार्यकर्ताहरू नै परिचालित नभएपछि पोखरेल काठमाडौं फर्किएको स्रोतले बताएको छ । अहिले त्यहाँ त्यहीँका केही मध्यम तहका नेता मात्रै चुनावी अभियानमा सरिक छन् ।

चुनावी वातावरण अनुसार जसपा अध्यक्ष उपेन्द्र यादव र जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहबीच प्रतिस्पर्धा हुने देखिन्छ । तेस्रो हुनका लागि एमालेका पौडेल र रास्वपाका रमेश खरेलबीच प्रतिस्पर्धा चलिरहेको बताइएको छ ।

गत निर्वाचनमा एमालेले यो क्षेत्रमा उम्मेदवार नै उठाएको थिएन । मंसिरको निर्वाचनमा जसपाका रामसहायप्रसाद यादव १३ हजार ८२२ मतसहित निर्वाचित भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

मंसिरको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट माओवादीबाट शिवचन्द्रप्रसाद कुसवाह उम्मेदवार थिए । उनले १३ हजार ४६८ मत ल्याएका थिए । उनी हाल जनमत पार्टीको उम्मेदवार बनेका छन् । गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका जसपाका रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत ल्याएका थिए ।

जनमत पार्टीका राजेश साहले २ हजार ७२५ मत ल्याएका थिए । यो क्षेत्रलाई जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रतिष्ठाको विषय बनाएका छन् । तनहुँमा बालकोटबाट सिधै तोकिएका पूर्वआइजी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएपछि एमालेका स्थानीय नेता तथा कार्यकर्तामा उत्साह आउन सकेको छैन ।

अघिल्ला निर्वाचनमा विभाजित हुँदै आएका कांग्रेसका नेताहरू यसपटक एकजुट भएका छन् । कांग्रेसका उम्मेदवार गोविन्दराज भट्टराईको चुनावी अभियानको नेतृत्व गर्न कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँमा खटाएको छ । गठबन्धनका अन्य दलका नेताहरू पनि चुनावी अभियानमा गएका छन् ।

स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले चुनावी मैदानमा छन् । गत मंसिरको निर्वाचनमा यो क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल निर्वाचन भएका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३६१, एमालेका एकबहादुर रानाले १९ हजार ९८१, स्वतन्त्र उठेका कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८८६, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए ।

स्रोत : दृष्टिन्यूज
प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार ०८:३२