सूचनाको शक्ति - The Power Of Information

        

माग सम्बोधन नभई फोहोर नउठाउने बालेनको स्पष्टोक्ति

काठमाडौंं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारसमक्ष आफूले पटकपटक छलफल गरेर पनि कार्यान्वयन हुन नसकेको समस्याहरूलाई १४ बुँदामा प्रस्तुत गदै त्यसको सुनुवाइ नभएसम्म शीतल निवास, वालुवाटार र सिंहदरबारको फोहोर नउठाउने स्पष्ट पार्नुभएको छ ।

सोमबार मेयर साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गर्नुभएको अनौपचारिक कुराकानीमा १४ बुँदे मागको सम्बोधन नभएसम्म फोहोर संकलन र ढुवानी नगर्ने अडान लिनुभएको हो ।

मेयर साहका पूर्वाधारविज्ञ सुनिल लम्सालले गृहमन्त्री श्रेष्ठसंग भएको अनौपचारिक कुराकानीमा कामपाले आफ्नो अडान दोहो¥याएको जानकारी दिनुभयो । उहाँले नेपाल समाचारसँग भन्नुभयो– ‘माग पुरा नभएसम्म शीतल निवास, वालुवाटार र सिंहदरबाबाट फोहोर उठ्दैन । मेयर साहले १४ बँुदामा दिएको जवाफ सरकारको लागि काफी छ ।’

तीन दिनदेखि सिंहदरबारको फोहोर संकलन र ढुवानी हुन नसक्दा मुख्य सचिवको कार्यालयलगायत सिंहदरबार परिसर दुर्गन्धित हुन थालेको छ । फोहोर नउठाएपछि केन्द्रीय सरकार सञ्चालन गर्ने निकाय वरपर थुप्रिएको फोहोर गन्हाएर नाक थुनेर हिडुनुपर्ने अवस्था आएको छ ।

सोमबार फोहोर उठाउने विषयमा विभिन्न निकायसँग अनौपचारिक कुराकानी भए पनि कुनै निष्कर्षमा पुग्न सकेन । आइतबार फोहोर संकलन र ढुवानी गर्ने निकाय परिवर्तन नेपाललाई गृह मन्त्रालय, सिँहदरबारस्थित प्रहरी वृतले फोहोर संकलन गर्न दबाब दिएको थियो । सोमबार मेयर साहले सरकारले महानगरप्रति गरेको व्यवहार खुलाउँदै १४ बुँदे भनाइ जारी गरेपछि भने फोहोर संकलन र ढुवानी गर्न दबाब दिएको छैन ।

यसैबीच कामपाका प्रवक्ता नवीन मानन्धरले वार्ताबाट समस्या समाधान नभएसम्म फोहोर संकलन र ढुवानी नगर्ने स्पष्ट पार्दै भन्नुभयो –‘अहिलेसम्म सरकारले वार्ता गर्न बोलाएको छैन, हामीले पनि कुनै निकायलाई फोहोर संकलन र ढुवानी गर्नु भनेका छैनांै ।’
सिंहदरबारलगायतको विशिष्ट क्षेत्रका फोहोर नउठाउने भनेर महानगरले लिएको अडानको पक्ष र विपक्षमा बहस जारी रहेको बेला मेयर साहले हिजो सोमबार बाध्य भएर १४ बुँदे धारणा सार्वजनिक गर्नुभएको थियो ।

उहाँले आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएकाले बाध्य भई उक्त निर्णय लिनुपरेको जिकिर गर्दै सामाजिक संजालमा लेख्नुभएको छ– ‘संघीय सरकारका रूपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न । पटक पटकको कोसिसपछि ९ महिनामा पटक–पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ ।’

उहाँले शहरी विकास, भौतिक योजना निर्माण तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, स्वाथ्य, गृह, परराष्ट्र, पर्यटन तथा नागरिक, अर्थ, सञ्चार प्रविधि, ऊर्जा तथा जलस्रोत, खानेपानी , भूमिसुधार तथा सहकारी, संघीय मामिला तथा स्थानीय र कृषि मन्त्रालयको विषयमा महानगरले गरेको पहल र छलफलको विषयलाई उदाहरण दिएर लेख्नुभएको छ ।

‘जुन सरकारले अर्काे सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ? उहाँले लेख्नुभएको छ ।

मेयर साहले अन्त्यमा लेख्नुभएको छ– ‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो । यो दबाब आवश्यक छ भन्नेमा सायदै दुईमत रहला ।’ मेयर साहले पछिल्लो समय खोला किनारामा बसेका सुकम्बासी हटाउन पुग्दा गृहमन्त्रालयले सहयोग नगरेपछि आक्रोसित भएर फोहोर ढुवानी रोक्नुभएको हो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार ०७:४९