सूचनाको शक्ति - The Power Of Information

        

क्रिकेट रंगशाला निर्माण प्रक्रिया अझै अन्योलमा

आफ्नै घरछेउमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन श्रमदान र आर्थिक सहयोग जुटाउन सक्रिय रहेका भरतपुर महानगरपालिका–१६ का कृष्ण कँडेल आर्थिकलगायत कारणले बीचमै निर्माण प्रक्रिया रोकिएपछि चिन्तित बनेका थिए । तर रंगशाला बनाउने जिम्मा सरकारले लिने भनेपछि उनी खुसी देखिएका छन् ।

‘राज्यले नै रंगशाला बनाउने निर्णय गरेपछि म मात्रै होइन, पश्चिम चितवनवासी खुशी भएका छौं,’ रंगशालाको पाँच सय मिटरमा घर भएका कँडेलले भने,‘सरकारले छिटो रंगशाला बनाएर अन्तराष्ट्रियस्तरको खेल भएको हेर्ने धोको छ ।’

सरकारले हालै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिने निर्णय गरेको छ। रंगाशाला निर्माण थालेको धुर्मुस–सुन्तली फाउन्डेसन आर्थिक अभावको कारण देखाउँदै पछि हटेपछि प्रक्रिया रोकिएको थियो । यस्तो अवस्थामा रंगशालाको स्वामित्व लिएर निर्माण प्रक्रिया अघि बढ्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि चितवनवासी खुशी भएका हुन् ।

भरतपुर महानगरपालिकाको १५ नम्बर वडामा निर्माणाधीन रंगशालाको काम गत असोजदेखि रोकिएपछि स्थानीयवासी निराश थिए । धुर्मुस–सुन्तली फाउन्डेसनले चन्दा उठाएर क्रिकेट रंगशाला बनाउने अभियान थालेको थियो ।

अपेक्षित आर्थिक सहयोग नउठेपछि निर्माणकै क्रममा फाउन्डेसन पछि हटेको थियो । फाउन्डेसनले रंगशालाको स्वामित्व लिन गत पुसमा भरतपुर महानगरपालिकालाई पत्र लेखेको थियो । महानगरपालिकाले भने कानुनी जटिलता देखाउँदै रंगशालाको स्वामित्व ग्रहण गरेको छैन ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार ०७:३९