राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठको टेलिफोन संवादका विषयमा संघीय संसदको दुवै सदनको बैठकमा अधिकांश सांसदहरुले प्रश्न उठाएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा सांसद श्रेष्ठको टेलिफोन संवादको विषयमा सांसदहरुले छानबिन गर्न माग राखेका हुन्।
आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्ने भन्दै सांसद श्रेष्ठले दुई करोड माग गरेको अडियो सार्वजनिक भएको विषयमा सोमबारको दुवै सदनको बैठकमा सांसदहरुले उक्त विषय उठान गरेका छन्।
अधिकांश सांसदहरुले बैठकमा सांसद श्रेष्ठलाई कारबाही गरी छानबिन गर्न सरकारसँग माग गरेका छन्। सांसदहरुले सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको आरोप पनि लगाएका छन्।
सांसदहरुले मन्त्री बन्नको लागि घुस माग्ने सांसदलाई सरकारले त्यसै छोड्न नहुने भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको टेलिफोन संवाद छानबिन गर्न संसदीय समिति गठनको माग गरे। उनले श्रेष्ठको फोन संवाद भ्रष्टाचारसँग सम्बन्धित रहेको भन्दै संसदले संसदीय समिति बनाएर निष्पक्ष छानबिन हुनुपर्ने बताए।
त्यस्तै, बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान गठबन्धनको सरकारले सिंहदरबारलाई भष्टाचारको अखडा बनाउन खोजेको बताए। उनले गठबन्धन सरकारकै सांसदले स्वास्थ्यमन्त्री हुन मेडिकल व्यवसायीसँग दुई करोड घुस मागेको अडियो सार्वजनिक भएसँगै सिंहदरबारलाई भष्टाचारको अखडा बनाउन खोजिएको बताए।
त्यस्तै, राष्ट्रियसभामा नेकपा (एमाले) की सांसद दिलकुमारी थापा रावलले दुई करोड घुस माग्ने सांसद श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरिन्।
त्यस्तै, नेकपा एमालेका सांसद ऋषिकेश पाखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुगेछ’ भन्दै व्यङ्ग्य गरे। उनले स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुग्दा अरु मालदार मन्त्रीहरुको कति होला? भन्दै प्रश्न गरे।
त्यस्तै, राष्ट्रियसभाका सांसद उदयबहादुर बोहोराले ८७५ जना नेपालीलाई भुटानी बनाउने राजनीतिक संलग्नता ५० लाख असुल गरिएको विषयहरु बाहिर आउन नपाउँदै सांसदले दुई करोड घुस मागेको अडियो बाहिर आएको बताए। उनले स्वास्थ्यमन्त्री बन्ने सांसद श्रेष्ठले व्यवसायीलाई मन्त्री बनेर अस्पताललाई दिने लेटर अफ इन्टेन शिक्षा मन्त्रालयले दिन्छ भन्ने ज्ञानसमेत नभएको देखिएको बताए। उनले अडियो झुटो भए छानबिन गरी दुर्गा प्रसाईंलाई कारबाही गर्नुपर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागे। उनले अडियो सार्वजनिक घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा याचना गरे।
सत्यपाटी संवाददाता । काठमाडौँ