व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ घुस मागेको अडियो क्लिप सार्वजनिक भएसँगै निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठबारे छानबिन गर्न पार्टीले तीन दिनको म्याद दिएको छ।
रास्वपाले अडियो क्लिप सार्वजनिक भएसँगै आइतबार नै डा. श्रेष्ठलाई निलम्बन गरेको हो। सार्वजनिक भएको अडियो क्लिपमा सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न रवि लामिछानेका मान्छेलाई बुझाउनुपर्ने भन्दै उक्त रकम माग गरेको प्रसाईसँग भनेका छन्।
पार्टीबाट समानुपातिक कोटामा सांसद भएका डा. श्रेष्ठको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।
‘यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ ।
साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा छ।

सत्यपाटी संवाददाता । काठमाडौँ