कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्कालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दिएको भनिएको ‘प्राध्यापक’ पद छानविनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार डा. खड्कालाई प्रतिष्ठान ऐन विपरित ‘प्राध्यापक’ भनी दिएको भनेर उजुरी परेपछि उक्त पदमाथि छानविन सुरु भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. खड्कालाई ९ असोज २०७५ मा ‘प्राध्यापक’ पदमा मनोनयन गरेको थियो । अख्तियारमा परेको उजुरीमा प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा. डा. राजेन्द्र वाग्लेले डा. खड्कालाई ‘प्राध्यापक’ उपाधि प्रदान गरिएको पत्र पठाएको उल्लेख छ ।
उक्त उजुरीमा डा. खड्काले प्रतिष्ठान ऐन विपरित ‘प्राध्यापक पद’ पाएको हुँदा सो लेख्न नपाउने र ‘प्राध्यापक’ पदको दुरुपयोग भएको हुँदा अख्तियारको कार्यविधी, २०७८ को दफा २६ अनुसार कारवाही गर्न माग गरिएको छ । अख्तियार स्रोतकाअनुसार डा. खड्कालाई दिइएको ‘प्राध्यापक’ पद सही हो वा होइन भनेर प्रतिष्ठानलाई पनि पत्राचार भइसकेको छ ।
‘उहाँहरुको प्राध्यापक पदमाथि अनुसन्धान अगाडि बढिसकेको छ,’ अख्तियार स्रोतले भन्यो, ‘हामी यसका सबै पाटा पक्षहरु केलाउँदैंछौं । प्रतिष्ठानलाई पनि आवश्यक कागजातका माग गरिसकेका छौं ।’ प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए । ‘यस विषयमा मलाई जानकारी छैन,’ डा. रावलले भने ।
यस विषयमा तत्कालीन उपकुलपति प्रा.डा. वाग्लेसँग सम्पर्क गर्दा उनले आफू अहिले प्रधानमन्त्रीको कार्यक्रममा व्यस्त रहेको भन्दैं फोन काटिदिए । यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा.ज्ञानेन्द्र गिरीविरुद्ध यस्तै प्रकार उजुरीमाथि अख्तियारले छानविन गरेको थियो । सो छानविनले डा. गिरीले दावी गरेको ‘प्राध्यापक पद’ प्रमाणित नभएपछि उनीविरुद्ध अख्तियार विशेष अदालत गएको छ भने डा. गिरी निलम्बनमा परेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं