सूचनाको शक्ति - The Power Of Information

        

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पहिलोपटक विस्तार हुँदा नै पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री बन्ने भन्दै उनले प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उनलाई निलम्बन गरिएको बताएका छन् । ‘अहिलेलाई उहाँलाई निलम्बन मात्र गरिएको हो । अनुशासन समितिले छानबिन गरेपछि उहाँलाई हुने कारबाही निश्चित हुनेछ,’ सचेतक परियारले भने । आफू मन्त्री बन्नका लागि पार्टीलाई साढे दुई बुझाउनुपर्ने भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग रकम माग गरेका छन् ।

सांसद ढाकाकुमार र दुर्गा प्रसाइँबीच भएको फोनवार्ताको अडियो सार्वजनिक भएको छ । उक्त अडियोमा सांसद ढाकाकुमारले पार्टी अध्यक्ष सभापति रवि लामिछानेलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन् । उनले आफूलाई साढे दुई चाहिएको बताउँदै दुर्गा प्रसाइँसँग भनेका छन्, ‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि । साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।’

उक्त फोनवार्ता रास्वपा सरकारमा जानुभन्दा अगाडिको जस्तो सुनिन्छ । प्रसाईंले आफूले दुई करोड रूपैयाँ दिने ग्यारेन्टी गरेका छन् । फोनमा प्रसाइँले भनेका छन्, ‘म दुई करोड दिन्छु, ग्यारेन्टी भयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले ।’ प्रसाईँले यो पैसा रविलाई नै बुझाउनुपर्ने त होला नि ? भनेर सोधेछन् । जवाफमा सांसद ढाकाकुमारले भन्छन्, ‘रवि सर देखापर्नु भएको छैन, बाहिर दुई–तीन जना साथीहरू हुनुहुन्छ । पार्टीलाई जान्छ भनेका छन् । जान्छ कि जान्न भन्ने पनि मलाई थाहा छैन ।’

पछि तोसिमाले लडाइँ त गर्दिनन् नि भनेर प्रसाईले सोध्दा श्रेष्ठ भन्छन्, ‘सबै अधिकार सभापतिलाई दिइएको छ । उहाँले जसलाई भन्नुहुन्छ उही हुन्छ ।’ यसैबीच रास्वपाले उक्त अडियोबारे छानविन सुरु भएको जनाएको छ । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले अडियो आफूले सुनेको र त्यसबारे सांसद श्रेष्ठलाई कारबाही प्रक्रिया थालिने उनको भनाइ छ । उनले यसबारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न विज्ञप्ति जारी गर्ने जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतवार १४:४७