सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

कविता : प्रतिक्षा

मैलै तिमीलाई पर्खिरहें
निरन्तर पर्खिरहें
गोढमेल गर्दै
सूर्यको चहक छेक्ने झारपात
गरिरहें भाकल
उत्सर्ग र वलिदानको
तिम्रो मेरो सबैको
स्वतन्त्र र सुन्दर शैयामा
नपरोस कतै कालो छाया
मैले तिम्रो आँखाको ज्योतिमा
आँखा मिसाइरहे

मेरो मनको अन्तराले भनिरह्यो
बनाउँदै तिम्रै भाखामा कोरियोग्राफी ।
वजाइरह्यो मनको गीत सारङ्गीमा
आऊ प्रिय तिमी आउ
जतिसक्दो चाँडो आउ
आगो बनेर आउ
जढता र क्रुरताको सिहासन पोल्दै
अङ्गार खाएर होइन
खरानी वनाएर आउ
म होमिन तयार छु
तिम्रो प्रेमाग्नीको ज्वालामा
मेरो गर्भमा हुर्किरहेको
एउटा नवजात शिशुको
गन्तब्य र भविश्य लिएर आउ
सर्वत्र खोजिरहें तिम्रो दिप्ती
मैले बालिरहे मनमा दियो
तिमीलाई मैले पर्खिरहे

मेरो नित्य प्रार्थना
पुस्तौंदेखि निदाएको आँखामा
तिमी आयौं
मेरो सपनाको परेली भिजाएर आयौ
एक वटुको अँध्यारो पिए झैं
तिलस्मी सत्यको घुम्टो ओडेर आयौ
जव कस्न खोजें वाहुपासमा प्रेमले
विभक्त सासको चुम्वन लिएर आयौ
भ्रमको बुर्की छर्दै
समयको मलामी बनेर आयौ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतवार ०७:०८