सूचनाको शक्ति - The Power Of Information

        

दंगा फैलाउने नियतको फिल्म ‘बहाव’

कला सफ्ट पोलटिकल पावर हो । यसले मानिसको बिचार परिवर्तन गर्न ठूलो भुमिका खेल्छ । त्यसैले त यतिबेला विकसित देशहरू कलामार्फत नै युद्ध गरिरहेका छन् । चाइनाले कला क्षेत्रमा गरेको लगानी, कोरियाले छोटो समयमा कला क्षेत्रमा पाएको सफलता, जापानले कलामा गरेको प्राविधिक विकास यसका उदाहरणहरू हुन् ।

हलिउडले निर्माण गरेको कल्पनाशीलता र बलिउडले पात्रलाई गरेको देवत्वकरणको प्रभावका आधारमा कला कत्तिको शक्तिशाली छ भन्ने आकलन सजिलै गर्न सकिन्छ । तर यो सफ्ट पावरलाई गलत ठाउँमा प्रयोग गरियो भने यसले दंगा फैलाउन सक्छ । ठुलै दुर्घटना निम्त्याउन सक्छ ।

फिल्म ‘बहाव’ले पोलटिकल आइडोलोजीलाई यस्तै दंगा फैलाउने नियतले प्रस्तुत गरेको छ । बहावले क्रान्तिलाई पलायनवादसँग जोडेको छ । कम्युनिष्टहरु प्रगतिशील विचारधाराका हुन्छन्, डेमोक्य्राटसहरु पश्चगामी र पितृसत्तात्मक सोचका हुन्छन् भन्ने विचार विभिन्न दृष्यमार्फत देखाउने प्रयास गरेको छ ।

कलामार्फत निर्देशकले सिधै विचारधारामा राजनीति गरेका छन् । कलामार्फत यो वाद सहि हो, त्यो गलत हो भन्नु कतिको जायज हो ? कला जब एक विचारधारातिर ढल्कन्छ त्यो कला नभएर नारा बन्न थाल्छ । फिल्म बहाव नेपालका कम्युनिष्ट भनिएकाहरुको नारामा सिमित बन्न पुगेको छ, जसले क्रान्तिलाई पलायन सम्झन्छन् ।

तर संघर्षको नाममा पलायनलाई प्रोत्साहन गरेको छ । नेपालका फिल्म लेखकहरु भाग्यमानी छन्, किनभने यहाँ फिल्मलाई सस्तो मनोरञ्जनका रुपमा मात्रै हेरिन्छ । फिल्म बहावले देखाएको गलत राजनीतिक दृष्टिकोणमा भन्दा कति सेकेन्डको चुम्बन दृष्य छ भन्नेतिर दर्शक बरालिन्छन् । ‘चुप हैन चुप्पा, खाने हो ?’ भन्ने संवादमा उनीहरु रमाउँछन् ।

कलामा खेलिएको राजनीतिप्रति वास्तै छैन । यो त भयो, आइडोलोजीको प्रयोग । अब कुरा गरौं कथावस्तुका बारेमा । सन्ध्या (सुरक्षा पन्त) को कथा हो यो । निजी कलेज पढ्ने, क्रान्तिका किताब पढ्ने युवतीको क्रान्तिकारी प्रेम कथा । आफूभन्दा कम हैसियतको युवकसँग प्रेममा परेकी सन्ध्याले प्रेमका लागि परिवारसँग गरेको क्रान्ति फिल्मको कथावस्तु हो ।

पात्रहरु थोरै छन्, त्यसैले कथा यताउता मोडिएको छैन । तर जब फिल्म सकिन्छ, कथा के हो अलमल हुन्छ । फिल्म बग्न छाडेर भुमरी पर्छ तर त्यो भुमरीले दर्शकलाई आफूतिर खिच्नुको सट्टा पाखातिर पछारिदिन्छ । दर्शक सकि नसकी उठेर बहावसँगै बग्न चाहन्छन् तर कथाले बारम्बार पाखातिर धकेलिरहन्छ ।

दर्शकसँग भावनात्मक रुपमा जोडिन नसक्नु र कथासँगै दर्शकलाई बगाउन नसक्नु फिल्मको मुख्य कमजोरी हो । फिल्ममा सुगा र मुख्य पात्रको कनेक्सन देखाइएको छ । यो नेपाली फिल्मका लागि नौलो प्रयोग त हैन तर सुगामार्फत उनको भावना देखाउन फिल्म सफल छ । उड्न खोज्दा भुइँमा बजारिन्छु कि भन्ने डर सुगालाई पनि छ र सन्ध्यालाई पनि ।

जुन फिल्मको अन्तिम दृष्यमा देखाइन्छ । ढोका खुला छाड्दा पनि सुगा उड्दैन । फिल्मको फ्रेममा सन्ध्या सधैं लेफ्टमा मात्र देखिन्छिन् । विचारसँग फ्रेम मिलाउन निर्देशकले मिहिनेत गरेका छन् । तर दर्शकले नबुझ्नेगरी । पलायनको मार्ग परिवर्तनमा हवाई या सडक मार्ग हैन जलमार्गको प्रयोग गरेका छन् ।

वैचारिक फिल्म भएकाले निर्देशकले पात्रको यात्राको मार्ग बदलेर अहिलेको बाटोबाट परिवर्तन सम्भव छैन, बाटो बदल भन्ने सन्देश दिने प्रयास गरेको देखिन्छ । पात्रकै कुरा गर्दा बहावका लागि सन्ध्याको पात्रमा सुरक्षा भन्दा अरू बिकल्प राम्रो हुनसक्थ्यो । सुरक्षा नै राख्ने हो भने पात्रअनुसार उसको परिपक्वता देखाउन सक्नुपर्थ्यो ।

काष्टिङ डिरेक्टर यो विषयमा चुकेकै हुन् । तर फिल्ममा सुरक्षाको अभिनय अब्बल छ । उनले आफ्नो भुमिकालाई न्याय गरेकी छन् । बाबुको भुमिकामा कमलमणी ठिकै छन् । आमा, भाइ, अंकलको अभिनयको कमजोरीले फिल्मलाई कसिलो र बलियो हुन दिएन । फिल्ममा हरियो र रातो रंगको प्रयोगमार्फत कथा भनिएको छ ।

स्याडो र प्रकाशको कलात्मक प्रयोगबाट कथा भन्न खोजिएको छ । नेपाली फिल्मका लागि यस्तो मेहनत कमै देखिन्छ । कलरिङ भनेको फोटोसप गर्नु हो, प्रकाश दिनु भनेको अनुहार गोरो देखाउनु हो भन्ने भ्रमलाई यो फिल्म हेरेर केही हदसम्म फिल्मकर्मीले सिक्लान् भन्ने आशा गर्न सकिन्छ ।

फिल्ममा रअ भ्वाइस प्रयोग गरिएको छ । नेपाली फिल्मको समस्या संवाद सम्प्रेषणमा छ । डबिङमा आधा इमोसन कम हुनजाने भएकाले फिल्म ठीकठाक भएपनि के के नपुगेजस्तो सुनिन्छ । यो समस्यालाई बहावले जस्तै लोकेसनकै आवाज प्रयोग गर्दा डबिङमा इमोसन हराउने समस्या समाधान हुनसक्छ ।

ब्याकग्राउन्ड म्युजिक र संगितको प्रयोगले फिल्मलाई अगाडि बढाएको छ । फिल्मले एउटा विषयमा भने दर्शक झुक्याएको छ । ट्रेलर हेर्दा यो साइकोलोजिकल थ्रिलर फिल्म जस्तो लागेको थियो । तर यसमा मुख्य पात्र साइकोलोजीकल रुपमा पूर्ण ठीक छिन् । उनले हरेक पाइला योजनाबद्ध रुपमा अघि बढाएकी छिन् ।

तर उनको दिमागको उथलपुथललाई देखाउन गरेको प्रयोगले दर्शकलाई मिसगाइड गर्छ । दिमागमा चलेका विविध कुराहरु र पागलपन फरक कुरा हो । स्ट्रेस, दिमागमा विचराहरुको आवतजावत भइरहेको अवस्था लगायतलाई साइको जसरी देखाउनु फिल्मको कमजोरी हो । इमोसनलाई दृष्यमा देखाउन असफल भएको हो ।

लेखक समेत रहेका निर्देशकले मनोविद्सँग परामर्श गरेको भए यो फरकपन सहजै पत्ता लगाउन सक्थे । यो फिल्मको प्राविधिक पाटोको निकै चर्चा चलेको थियो, फिल्म प्रदर्शन हुनुभन्दा अघि । फिल्म निर्माण पक्षलाई सबैभन्दा ठूलो डर दर्शकले सट नबुझिदिने हो कि, खिचाई नबुझिदिने हो कि भन्ने थियो ।

उनीहरुको डर वास्तविकतामा परिणत भएको छ । किनभने फिल्मको सटले कथा भन्दैन । फिल्ममा सन्ध्या कलेजबाट फर्कंदा घरमा अमेरिका बस्ने केटो माग्न आएको दृष्य छ । निकै लामो यो दृष्यमा ‘किचेन टु बेडरुम भ्लग’ बनाउँदा जत्तिको मेहनत पनि देखिएन । एउटै टाइट फ्रेममा लामो समयसम्म क्यामरा हल्लाएर दृष्य खिचिएको छ ।

क्यामराको सामान्य नियम, रुल अफ थर्डको स्पेस मेन्टेन गरिएको छैन, कम्पोजिसन गलत छ, लाइट सेन्स जिरो छ, मिड सटमा मात्रै खिचिएको छ । हलको समस्या हो या खिचाइएको, पात्रहरुको टाउको काटिएको छ । यसलाई देशको अस्थिरता देखाएको या पात्रको अस्थिरता देखाएको पटक्कै भन्न सुहाउँदैन ।

फिल्मका निर्देशकले पटक पटक भनेका छन्, हामीसँग हरेक सटको जवाफ छ । कला भनेको परिक्षा हैन, जसका लागि पाठ्यक्रमकै जवाफ चाहिन्छ । यो त स्वतन्त्र रुपमा हरेक दर्शकले फरक ढंगले बुझ्ने माध्यम हो । निर्देशकले भन्न खोजेको कुरा दर्शकले बिना कुनै ब्याख्या बुझे मात्रै निर्देशन सफल हुने हो ।

हरेक मानिसलाई तिम्ले बुझेनौ, यसले भन्न खोजेको यस्तो हो भनेर दृष्यमा कथा भनिएको छ भनेर व्याख्या गर्नुपर्यो भने त्यसलाई सफल निर्देशन मान्न सकिंदैन । फिल्म दर्शकका लागि बनाउने हो । आफ्नो आत्मसन्तुष्टिका लागि हैन । नेपालमा एकखाले प्रवृत्ति छ, फिल्म बनाउने तर हलमा नलगाउने । विभिन्न महोत्सवमा या अवार्ड कमाउनेतिर लगाउने ।

यो झुण्ड हरेक चियागफमा नेपाली फिल्मलाई, दर्शकलाई गाली गर्छ । दर्शकको पहुँचबाट टाढा रहेका फिल्म बनाउने र नेपाली दर्शकको चेतना स्तरबारे प्रश्न गर्ने झुण्डभन्दा माथि छ फिल्म बहाव । फिल्म हलमा लागिसकेको छ, अन्य विधामा बनेका भन्दा फरक छ फिल्म । एकपटक हलसम्म गएर स्वाद लिंदा फरक पर्दैन । तर यदि तपाईंलाई मोसन सिकनेस छ भने पोलिथिन झोला बोक्न नबिर्सिनुहोला है त ।

स्रोत : पुष्पा थपलिया । उकेरा
प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार १२:५८