सूचनाको शक्ति - The Power Of Information

        

बालबालिकालाई कब्जियतको समस्याबाट कसरी बचाउने ?

बदलिँदो जीवनशैलीको कारण मानिसहरू कब्जियतको समस्या भोगिरहेका हुन्छन् । अस्वस्थकर खानपान र शारीरिक परिश्रमको अभावमा यो समस्या बढेको छ । वयस्क व्यक्ति मात्र नभई अचेल साना बाबुनानीहरूमा पनि यो समस्या बढिरहेको छ ।

पौष्टिक खानेकुराभन्दा पनि बाहिरका खानेकुरा धेरै खाने चलन बढ्दा बालबालिका कब्जियतको समस्या भोगिरहेका हुन्छन् । कब्जियतको समस्याका कारण पेट राम्ररी सफा नहुनुका साथै कडा र सुख्खा दिसा आउँछ, जसका कारण दुखेर पीडा हुन्छ । आफ्ना बच्चालाई कब्जियत हुन नदिन अभिभावकले यी उपाय अपनाउनु पर्छ ।

बालबालिकाको खाने बानी सुधार्नुहोस् – अभिभावकले बालबालिकालाई सधैँ स्वस्थ खानामा बानी बसाल्नु पर्छ । बाहिर बनेका वा जंक फुड खाने बानी हटाउनुपर्छ । घरमै बनेका खाद्यपदार्थसँगै ताजा फलफूल, सागसब्जीमा जोड दिनुपर्छ ।

यस्तै मौसम अनुसार चुकन्दर, ब्रोकाउली, गाजर, मकै, ब्रसेल्स, स्प्राउट्स, बन्दाकोबी, हरियो मटर, हरियो सिमी, पालुंगोजस्ता तरकारीका साथै, एभोकाडो, मेवा, स्याउ, खजुर, नासपाती, किबी, सुन्तला, ब्ल्याकबेरी, रास्पबेरी, स्ट्रबेरी र किसमिस फलफूल खानामा समावेश गर्नुपर्छ ।

फाइबरयुक्त आहार – दूध, सोडा र कोलाको सेवन कम खान दिनुपर्छ । बालबालिकालाई मसालेदार, तेल, प्याक गरिएको, प्रशोधित खाना खान नदिनुस् । उनीहरूलाई हाइड्रेटेड रहन र शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न पर्याप्त पानी पिउन दिनुपर्छ ।

शारीरिक गतिविधि वा व्यायाम गराउने – व्यायामले कुनै पनि समस्याबिना पाचन र शौचमा मद्दत गर्दछ । बच्चाको लागि दैनिक कम्तीमा ३० मिनेट केही शारीरिक क्रियाकलाप वा व्यायाम गर्न आवश्यक छ । बच्चाले पौडी खेल्ने, हिँड्ने, योग गर्ने, दौडने र एरोबिक्स जस्ता कुनै पनि गतिविधि गर्न सक्छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार ०८:५६