सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा शनिबार नि:शुल्क विशेषज्ञ आयुर्वेद शिविर हुँदैं

आम नागरिकको स्वास्थ्य अवस्थालाई सुधार गर्ने उद्देश्य सहित नेपालगन्जमा शनिबार नि:शुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविर हुने भएको छ ।

नेपालगन्ज उप–महानगरपालिका आयुर्वेद शाखाको आयोजना तथा नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा उपचारात्मक योग शिविर हुन लागेको हो । शिविर नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल रहेको आदर्शनगर चोक सुर्खेतरोडमा संचालन हुनेछ ।

नि:शुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविर संयोजक डा. मनोज कुमार यादवले स्थानीय सरकारले आफना नागरिकलाई विशेषज्ञ आयुर्वेद सेवा मार्फत स्वास्थ्यमा सुधार गर्ने उद्देश्य सहित आयोजना गरेको बताए ।

उनले भने, ‘आयुर्वेद हाम्रो मौलिक उपचार विधि हो । यसको बारेमा आम नागरिकले जानकारी पाउनुपर्छ । नागरिकहरुमा आयुर्वेदको बारेमा सकारात्मक भावनाको विकास गर्न पनि शिविरले सहयोग गर्नेछ ।’

शिविरमा उपचारसँगै योगहरुको बारेमा जानकारी गराउने संयोजक डा. यादवले बताए । डा. यादवले भने, ‘शिविरमा हामी रोग अनुसारको योग सिकाउँछौं । योगको फाईदाको बारेमा बिरामीलाई बुझाउँछौं । कस्तो बिरामीले कुन योग गर्न हुन्छ, कुन गर्न हुदंैन भन्ने प्राविधिक ज्ञान पनि सिकाउँछौं ।’

शिविरमा जुनसुकै देशका नागरिक पनि नि:शुल्क रुपमा सेवा लिन सक्ने संयोजक यादवले बताए । डा. यादवका अनुसार शिविरमा विशेषगरी पाचन प्रणाली सम्बन्धी समस्याहरु पाइल्स, फिस्टुला, फिसर, बवासीर, दिसा रगत जाने, मलद्धार वरिपरि घाउ खटिरा हुने, चिलाउने, पोल्ने, घाँटी पोल्ने, अपच हुने, गानोगोला, जण्डिस, हेपाटाईटिस, मुत्र प्रणाली सम्बन्धी रोग, महिला सम्बन्धी रोगहरु, योन रोग, नसा तथा छाला सम्बन्धी रोग र स्नायी तथा मांसपेशी सम्बन्धी रोगहरुको उपचार गरिनेछ ।

शिविरमा परिक्षण गर्न आएका बिरामीले एक महिनाको अवधिमा पुन: स्वास्थ्य परिक्षण गर्नु परेमा नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले नि:शुल्क स्वास्थ्य परीक्षणसँगै ल्याब, पंचकर्म र औषधीमा पाँच प्रतिसत छुट, पाइल्स, फिसर, फिस्टुला, पाइलोनाइडल साइनस, क्षारसुत्रमा १० प्रतिसत छुट दिने हस्पिटलको लेखा तथा व्यवस्थापन प्रमुख प्रिन्सी मिश्रले बताईन् ।

नेपालगन्ज उप–महानगरपालिकाले जयसपुर आयुर्वेद औषधालय, परसपुर आयुर्वेद औषधालय र भवनियापुर आयुर्वेद औषधालयबाट नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण सेवा प्रदान गर्दै आईरहेको छ । शिविरमा करिब ५ सय भन्दा बढी अनुमानित बिरामी आउने अपेक्षा गरिएको छ ।

शिविरमा आउने बिरामीहरुको कन्सल्टेन्ट शल्यविज्ञ डा. मदन भण्डारी, कन्सल्टेन्ट पंचकर्मविज्ञ डा. निर्मल भुषाल, डा. शिवराज सुवेदी र डा. प्रतिभा केसी गौतम सहितको टिमले स्वास्थ्य परीक्षण गर्नेछ । शिविर विहान ७ बजेर ३० मिनेट देखि सुरु हुने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १८:४२