सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा हुने युवा संघ राष्ट्रिय महाधिवेशनको तयारी ८० प्रतिशत पूरा

नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नेपालगन्जमा यही चैत २७ देखि २९ गतेसम्म हुने नवौं राष्ट्रिय महाधिवेशनको  तयारी ८० प्रतिशत पूरा भएको छ । महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भईरहेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

‘दुई हजार भन्दा बढी प्रतिनिधि सहभागि हुने महाधिवेशनलाई भव्यतापूर्वक सफल पार्नेगरी तयारी भईरहेको छ,’ अध्यक्ष पौडेलले भने ‘अहिलेसम्म ८० प्रतिशत तयारी भईसकेको छ, दुईदिनमा बाँकी काम पनि पूरा हुनेछ ।’

महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेसँगको समन्वयमा दश हजार बढी जनपरिचालन गरिने उनले बताए । महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरु सहभागी हुने भएका छन् ।

महाधिवेशन आवास तथा खाद्यान्न समिति संयोजक एमाले बाँकेका युवा नेता रबिन्द्र लम्सालले देशभरीका दुई हजार प्रतिनिधि र अतिथिहरुको नेपालगन्ज र कोहलपुरका होटलमा बासको व्यवस्था गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १८:३७