सूचनाको शक्ति - The Power Of Information

        

नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीको संलग्नता

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी नक्कली भुटानी शणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको खुलेको छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग रायमाझीको संलग्नता खुलेको हो । नक्कली भुटानी शरणार्थी बनाउने गिरोहरुसँग रायमाझी लामो समयदेखि सम्पर्कका रहेको र उनीहरुसँगै हेलिकोप्टर चार्टर गरेर गोसाइँकुण्ड घुमेको लगायतका घटना सार्वजनिक भएका छन् ।

कान्तिपुर दैनिकमा प्रकाशित अमेरिका उडाउने भन्दै ८७५ नेपालीलाई भुटानी बनाउने गिरोहमा ‘राजनीतिक संलग्नता’ समाचार अनुसार गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले गिरोहका सदस्यले एकापसमा र अरूलाई काटेका केही चेक र कागजात बरामद गर्दा छोरा सन्दीपको नाममा काटिएको चेक पनि भेटिएको हो  । गिरोहका सदस्य अशोक पोखरेलले नबिल बैंकमा रहेको आफ्नो खाताको चेकबाट २०७६ जेठ १९ सन्दीपका नाममा चेक काटेका थिए ।

गिरोहले झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङ लगायत जिल्लाका ८७५ जनाबाट प्रतिव्यक्ति १० देखि ५० लाखसम्म उठाएको थियो । गिरोहले कैयौंलाई शरणार्थीका रूपमा नक्कली कार्ड पनि बनाइदिएको थियो ।

पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ११:१४