सूचनाको शक्ति - The Power Of Information

        

सेनाले माग्यो डाक्टरदेखि फिल्म निर्देशकसम्मका पदमा आवेदन

नेपाली सेनाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । सेनाले भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलर लगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको छ ।

आज एक सूचना जारी गर्दै सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृत पदका लागि इच्छुकहरूबाट दरखास्त मागेको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न १३७ जना माग गरिएको सेनाले जनाएको छ । १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्नेछन् ।

उचाई भने पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्नेछ । सेनाको वेबसाइटमा गएर दरखास्त फारम भर्न सकिन्छ । भरेको फारम प्रिन्ट गरेर स्वयम नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भू पुगेर बुझाउनुपर्ने हुन्छ । १० को टिकट टाँसेर दरखास्त दिनसमेत सेनाले आग्रह गरेको छ ।

दरखास्त शुल्क भने एक हजार रुपैयाँ तोकिएको र आजैदेखि २०८० वैशाख २३ गतेसम्म दरखास्त फारम बुझाउन सकिने सेनाले जनाएको छ । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको भर्ना छनोट निर्देशनालयले जनाएको छ । वैशाख ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ०८:३२