फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘बहाव’ प्रदर्शनमा आएको छ । यसका साथै आज चैत महिनाको अन्तिम शुक्रवार भएकाले ‘बहाव’ सिनेमा हलमा प्रदर्शन हुने वर्षकै अन्तिम नेपाली फिल्म समेत बनेको छ ।
प्रमोद कँडेलको लेखन तथा निर्देशन गरेको यो फिल्मसंगै आजदेखि ‘प्रसाद–२’ पनि प्रदर्शनमा आउने तयारीमा थियो । तर, केह दिनअघि उच्च अदालत पाटनले ‘प्रसाद २’ को प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गरेपछि आजदेखि ‘बहाव’ मात्र सिनेमा हलमा आएको हो ।
अभिनेत्री सुरक्षा पन्त तथा अभिनेता कमलमणि नेपालले छोरी र बुवाको भूमिका निर्वाह गरेको फिल्म हो बहाव, जसलाई स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाले निर्माण गरेका हुन् ।
फोटो पत्रकार श्रीधर पौडेल यो फिल्मका निर्माता हुन् । बहावमा सुरक्षा पन्त तथा कमलमणि नेपालसहित अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।
सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको यो चलचित्रमा सज्जा चौलागाईंंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायांकन रहेको छ ।
यो फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
सत्यपाटी संवाददाता । काठमाडौँ