सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा बजेट कार्यान्वयन निराशाजनक

सत्ता खिचातानीमा अल्झिएको लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्च प्रगति सन्तोषजनक छैन । विकासका काम ठप्पजस्तै छन्। त्यसैले विकास बजेट खर्चदर न्यून छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका अनुसार आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिकसम्मको पुँजीगत बजेट खर्चदर जम्मा २४.६६ प्रतिशत छ ।

चालु आर्थिक वर्षका लागि छुट्याइएको २४ अर्ब ६३ करोड १९ लाख विकास बजेटमध्ये फागुन मसान्तसम्म जम्मा ६ अर्ब ७ करोड ५१ लाख रूपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षका बाँकी चार महिनामा विकास बजेटको १८ अर्ब रूपैयाँ खर्च होला भन्नेमा विकासे मन्त्रालयकै अधिकारी विश्वस्त छैनन् ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको कुल बजेट ४२ अर्ब ६३ करोड ५७ लाख रूपैयाँ हो । फागुन मसान्तसम्मका आठ महिनामा कुल बजेटमध्ये १२ अर्ब ४२ करोड १ लाख रूपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका प्रमुख दिपक ज्ञवालीले बताए ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ०७:३४