सूचनाको शक्ति - The Power Of Information

        

कहिले आउला उपत्यकामा मेलम्चीको पानी ?

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप विच्छ्याउन बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु गरिएको छ । केही वर्ष पहिले विच्छ्याएका पाइपमा परीक्षण गर्नुका साथै आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरु गरिएको हो ।

यसअघि एशियाली विकास बैंकको ऋण सहयोगमा चक्रपथभित्रका विभिन्न स्थानमा पाइप विच्छ्याइएको थियो । त्यतिबेला छुटेका स्थानमा अहिले पुराना पाइप परीक्षण गर्नुका साथै नयाँ पाइप विच्छ्याउन सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए ।

उनले भने, ‘पहिले छुटेका चक्रपथभित्रका ठाउँ र चक्रपथ बाहिरका केही ठाउँमा अहिले काम भइरहेको छ ।’ चक्रपथभित्र बालुवाटार, धुम्बाराही, कलङ्की, स्वयम्भू क्षेत्रमा तथा चक्रपथ बाहिर कपन र मण्डिखाटार क्षेत्रमा पनि पाइप विच्छ्याउने काम भइरहेको छ ।

उनले भने, ‘पाइप विच्छ्याइसकेपछि परीक्षण गर्न एकवर्ष लाग्नसक्छ । परीक्षणपछि नियमित पानी वितरण गरिनेछ ।’ पहिलो चरणमा एक हजार १० किमी पाइप विच्छ्याइको थियो । ती ठाउँमा अहिले आधाभन्दा बढी परीक्षण भइसकेको निर्देशनालयले जनाएको छ ।

परीक्षण सकिएका स्थानमा नयाँ र नसकिएका ठाउँमा पुरानो पाइपबाट खानेपानी वितरण भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना निर्माणमा एशियाली विकास बैंकले सहयोग गर्दै आएको छ । हिउँदमा मात्रै नभएर वर्षाको समयमा पनि पानी ल्याउन सकियोस् भनेर छुटेका ठाउँमा पाइप विच्छ्याउन लागिएको सूचना अधिकारी श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १७:२९