‘जहाँ शब्दले काम गर्दैन, त्यहाँ सङ्गीत बोल्छ’ किनकी, सङ्गीत मौनताको आवाज हो । आवाजविहीनहरूको भाषा हो । त्यसैले यो सर्वप्रिय छ, सर्वस्वीकार्य छ । तर यही आवाज विहीनहरूको आवाज । नेपाली संस्कृतिको महत्व र वीरताको गाथा । तर त्यही सारङ्गीको धुन अहिले मधुरो बन्दै गएको छ । सल्यानको खलंगा बजार नजिकको सङ्गीत टोल, आधुनिकीकरण र व्यवसायिकरणको चपेटामा परेको छ । त्यसैले सङ्गीत टोल मौन छ ।
भनिन्छ सङ्गीत जीवनको रङ्ग हो, सङ्गीत धेरैको सपना हो, अनि सपना त्यो हो, जसले सुत्न दिँदैन । त्यही सपनाले सँधै जागा राख्छ । अर्थात् सङ्गीतले जीवनमा रङ्ग भर्छ । सङ्गीतले रंगिएको जीवन र सङ्गीतले भरिएको सपनामा हुर्किएको सल्यानको खलंगा बजार नजिकको सङ्गीत टोल गन्धर्व समुदायको हो । जसको पेसा र संस्कृति सारङ्गीसँग मात्रै जोडिएको छ । सारङ्गी बजाउनु र आफ्नो संस्कृतिको संरक्षणमा लाग्नु यो समुदायको धर्म हो । किनकी सारङ्गी हाम्रो लोकबाजा हो, सारङ्गी हाम्रो लोक भाखा हो ।
त्यसैले सारङ्गीवादक हाम्रो लोक संस्कृतिको इज्जत हुन् । तर यही सारङ्गीको लोकप्रियता अहिले विस्तारै भित्रिँदो आधुनिकताको आडमा एउटा पुस्तालाई मित्थ्या लाग्न थालेको छ । गन्धर्व समुदायको बसोबास भएको सल्यानको खलंगा बजार नजिकको सङ्गीत टोलले, अचेल सङ्गीतको कथा गुनगुनाउन छाडेको छ । पेसाको सम्मान भएन । आधुनिक समाजले परम्परागत सांस्कृतिक मौलिकता बुझेन । बाजा र भाखा संरक्षणमा कसैले चासो देखाएन । सारङ्गी बजाएर बम्बई–गोरखपुर अथवा कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको खबर प्रवाह गर्दै गाउँ बस्ती चाहर्ने गन्धर्वहरू जातीय छुवाछुतको शिकार भई रहे ।
त्यसैले त अचेल सारङ्गीका तारहरू बज्नै छाडेका छन् । गन्धर्वहरूले हरियो पासपोर्ट बोकेर गएका युवा काठको बाकसमा फर्किएको खबर सुनाउन छाडेका छन् । सङ्गीत टोलमै सारङ्गी रेट्ने गन्धर्वहरू भेटिन छाडेका छन् । शारदा नगरपालिकामै बस्ने निर्मला गन्धर्वको पनि पीडा उस्तै छ । ‘जनता आवासमार्फत निर्माण भएको घरमा बसेका छौं, तर जग्गा जमिनको नाममा एक टुक्रा पनि छैन । बस्नलाई घर मात्रै छ, तर खुर्सानीको बोट रोप्ने ठाउँसमेत छैन,’ उनले दुखेसो पोखिन्, ‘जग्गा जमिन नहुँदा जीवन निर्वाहको लागि अरुको भर पर्नुपर्ने बाध्यता छ ।’ त्यसैले छोराछोरीले गाउँ छाडिसकेका छन् ।
यो सङ्गीत टोल त्यही गाउँ हो, जहाँका गन्धर्वहरू दुःख र पीडालाई आफ्ना शब्द र सुन्दर सङ्गीतमा ढालेर सारङ्गी रेट्दै गाउँघर चहार्दै हिँड्थे । तर अचेल उनीहरू रैथाने बाजा सारङ्गीको तारजस्तै टुटेका छन् । गीतसङ्गीत सुनाउँदै घुम्ने आफ्नै इतिहास, सारङ्गीबाट अलग्गिएका छन् । इतिहास र घटनाक्रम गाउन नसक्ने भएका छन् । जिविकोपार्जन कै खातिर यो समुदायले पुर्ख्यौली पेशाको रोमाञ्चक भारी विस्तारै बिसाउन थालेको छ । दिनभरी काम गरेर साँझ चुलो जोड्ने धुनमा दैनिकी बदलिएको छ । सुखका दिन कहिल्यै आएनन् तर दुखको फेहरिस्त कहिल्यै बदलिएन । दुःख पनि यसरी थोपरियो की, सारङ्गी नै लोप हुन थाल्यो ।
कलिलो हृदयमा सारङ्गीको झंकार गुञ्जिएको अनि त्यही बेलादेखि यसैमा रत्तिएका अग्रजहरू अहिले यो कर्म थामी खान नसक्ने उमेरमा पुगेका छन् । त्यसैले खलङ्गाको सङ्गीत गाउँ अचेल बेसङ्गीत बन्न पुगेको छ । सल्यानको शारदा नगरपालिका ३ सङ्गीत टोलका बिशुराम गन्धर्वको नाममा जग्गा छैन । जनता आवास कार्यक्रममार्फत सरकारले केही वर्ष पहिले बस्नलाई एउटा घर बनाइदिए पनि अहिलेसम्म एक टुक्रा जग्गा छैन । पुस्तौंदेखि सङ्गीत टोलमा बस्दै आए पनि जग्गा जमिन नहुदाँ समस्या भएको बिशुराम गन्धर्वको भनाई छ । सङ्गीत टोलको गौरव गाथा बिस्तारै दन्त्य कथा बन्न थालेकोमा हरि गन्धर्वलाई पनि चिन्ता लागेको छ । किनकी यो सङ्गीत गाउँमा अचेल सारङ्गी भेट्टाउनै मुस्किल पर्छ ।
हरि भन्छन्, ‘गाउँमा सारङ्गी नै बन्न छाडेको छ, सारङ्गी भेट्टाइए पनि बजाउने मान्छेको अभाव छ । अहिलेको पुस्ताले न लस्के भाखा बुझ्छ, न चाँचरी, मालश्री, मंगला अथवा धनसिरा र असारे भाखा नै जानेको छ ।’ सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा नै एकाएक यो गाउँबाट विस्थापित भएको छ । सङ्गीत टोलकै अनिता गन्धर्वसँग पनि एक टुक्रा जमिन छैन । बस्नको लागी एउटा घर छ तर खोर्सानी रोप्ने ठाउँसम्म छैन, उहाँको भनाई छ, सङ्गीत टोलका १४ परिवारलाई जनता आवासमार्फत सरकारले घर बनाई दिएको छ तर पाँच परिवारको बस्ने आवास नै छैन ।
बस्ने घर र गरिखाने जमिन नभएपछि पछिल्लो पुस्ता पलायन भएको छ । सारंङ्गीको धुन बिर्सिन थालेको छ । छोरा र नातिहरूले घर छाडेपछि १८ घर गन्धर्व समुदायको बसोबास रहेको सङ्गीत टोलमै खबरमूलक मर्मस्पर्शी हृदय विदारक गीत गुञ्जन छाडेको छ । हरी गन्र्धव भन्छन्, ‘सारङ्गीको धुनमा हरेक घटनालाई कलात्मक ढंगले प्रस्तुत गर्दा चौफेरामा बस्नेको आँखा रसाउंथे । गीत सङ्गीतका माध्यमबाट समाचार बाँड्दै हिँड्दा नागरिकले ठूलो श्रद्धा गर्थे । अचेल गन्धर्वका सारङ्गी हाम्रै गाउँमा गुञ्जन छाडेको छ ।’ मुश्किलले १–२ जनाले मात्रै सारङ्गी बजाउँछन्, त्यो पनि कहिलेकाहीँ । हामी साँझको समयमा सङ्गीत टोल पुग्दा गाउँमा हरी गन्धर्व भेटिए । थोरै आफनो सुमदायको पीडा, अनि आफैंभित्र उकुसमुकुस भएका धेरै आफ्नै पीडा हरीले सुनाउन थाले ।
हामीले सङ्गीत टोलको समास्याका बारेमा जान्न चाहयौं । गन्धर्व जातीको सारङ्गी बजाउने पेशा किन विस्थापीत भयो ? यो हाम्रो कौतुहलता थियो । तर हरिले हामीलाई नै यो प्रश्न गरे । सारङ्गी बजाउने पेशा किन विस्थापित भयो ? ‘कला संस्कृतिको धनी देशमा मौलिक संस्कृति लोप हुनु राम्रो होइन,’ गन्धर्वहरू भन्छन्, ‘यसको संरक्षण र संवद्र्धनमा सबैले ध्यान दिनुपर्छ । अहिले गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गन्धर्वको अभाव खड्किरहेको छ । पुर्खेली जातीय पेशा संकटमा परेको छ । युवा वर्गमा जन्मिएको जातीय पेशाप्रतिको हिनताबोध मेटाउनुपर्छ । दुःख पिरका गीत गाउँदै हिड्ने गाइने दाईहरूलाई गन्धर्व पेशामा जोड्नुपर्छ ।’ हिजोआज सारङ्गी बजाउनेहरू यो सङ्गीत गाउँ मै भेटिदैनन् । यसको अर्थः सारङ्गी बजाउने श्रृजनशील पुस्ता नै हराएको छ ।
युवाहरूले सारङ्गी बजाउने पेशा अंगाल्नै छाडेका छन् । गाउँगाउँ डुलेर सारङ्गीको तालमा विरहको गीत गाउनेहरू भेट्टाउनै छाडेको छ । सङ्गीत गाउँकै युवा, विरही भाखामा वियोगान्त माहोल श्रृजना गरेर पैसा अन्न अनि प्रशंसा बटुल्ने गन्धर्व पेशाबाट पालिन छाडेका छन् । तिथिमिति सहित दुःखको सन्देश सुनाउने सारङ्गी जिवीहरूले विरहको गीत गाउन छाडेपछि, केहि गाउँघरमा सामान्य खेतीपातीमा भिजेका छन् त धेरै जिविकामुखी बैकल्पीक पेशामा जोडीएका छन् । किनकी, जनता आवास कार्यक्रममार्फत सरकारले यो गाउँमा बनाईदिएको एउटा घरबाहेक सङ्गीत टोलका प्रत्येक मान्छेसँग टाउको लुकाउने बासबाहेक एक ढिंडी खुर्सानी फलाउने जमिन छैन ।
न घर न जमिन, न पेशा न व्यापार, सारङ्गीसँगै जीवन खोज्ने मन हुँदा हुँदै पनी धेरै गाइने दाईहरू खाडी भासिएका छन् । त्यसैले, सारङ्गी बजाउने मात्र हैन अहिले सारङ्गी बनाउने पुस्ताकै अभाव छ । सातै सुरको नियम लागू हुने सारङ्गीको तार बाख्राको आन्द्राबाट बन्छ । बजाउने भाग घोडाको पुच्छर बाट तयार पार्नुपर्छ । तर अचेल गाउँतिर खिर्रोको रुखसम्म पाइन छाडेको छ । तार र अरु नै काठबाट बनेका आधुनिक सारङ्गीले मौलिक धुन दिनै सकेको छैन । त्यै पनि कसले बनाउने ? सङ्गीत टोलमा भेटिएका टोपबहादुर गन्धर्वले ठट्टै ठट्टामा अनुभव सुनाए, हामी उहिलेका पत्रकार, उतिबेला तपाईंहरू जस्तै गीतबाट गाउँलेलाई सूचना दिन्थ्यौं । अहिले गन्धर्वहरू लोप भएका त छैनन् तर संस्कृति हराउँदै गएको छ । गाउँघरमा गीत गाउँदै हिंड्ने चलन हराएको छ ।
युवाहरू एकैपटक धेरै पैसा कमाउने रहरले हैन, आफ्नै नाभी गाडीएको बाऊ बाजेले सारङ्गी रेटेर ख्याती कमाएको यही सङ्गीत गाउँमा छानो र मानोको जोहो गर्न, युवाहरू विदेशिन थालेका छन् । जमिन नभएका कारणले जीवन निर्वाहका लागि अरुकै भर पर्नुपर्ने बाध्यता छ । यो सङ्गीत टोलको मात्र समस्या हैन । सल्यानमा यस्ता सयौँ परिवार घरविहिन छन् । हजारौं परिवारसँग जग्गा जमिन छ, तर लालपुर्जा छैन । यो अबस्थामा जीवन गुजारा कसरी चल्छ ? सङ्गीत टोलका जस्तै अधिकांश पीडित परिवारको एउटै गुनासो छ, बर्षौंदेखि न गाँस न बास न कपासको अवस्थामा छट्पटाएर बाँच्दा पनि सरकारले किन हेर्दैन ? यही प्रश्न र पीडाकै कारण, गन्धर्व समुदायका युवाहरू सारङ्गी बजाउने पेशाबाट पलायन भएका हुन् । यो हाम्रो मौलिकताको पलायन हो । यो हाम्रो सांस्कृतिक धुनको अवसान पनि हो ।
कृष्ण तिमल्सिना । काठमाडौं