सूचनाको शक्ति - The Power Of Information

        

एकल आमाका सन्तानहरुलाई आमाकै नाममा जन्मदर्ता दिन गृहको निर्देशन

गृह मन्त्रालयले एकल आमाका सन्तानलाई आमाकै नाममा जन्मदर्ता गर्न वडा कार्यालयहरुलाई निर्देशन दिएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्व नखुलेका बच्चाको जन्मदर्ता आमाकै थर राखेर गर्न निर्देशन दिएको छ।

विभागले दिएको निर्देशनमा भनिएको छ- ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानसँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानमा जन्मदर्ता गरिदिने।’

त्यस्तै सूचनाको अर्को बुँदामा ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको आमा तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने’  भनिएको छ।

यसरी जन्मदर्ता गरिसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा यसलाई रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता बनाउन पनि विभागले वडा कार्यालयहरुलाई परिपत्र गरेको छ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १९:०९