सूचनाको शक्ति - The Power Of Information

        

मुख्यमन्त्री गिरीद्वारा प्रस्तावित लुम्बिनी प्रादेशिक विश्वविद्यालय निर्माणस्थलको निरीक्षण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणस्थलको निरीक्षण गरेका छन् ।

खजुरा गाउँपालिका वडा नम्बर ७ मा ३७ र वडा नम्बर ८ मा ८१ बिगाहा विश्वविद्यालयलाई आवश्यक पर्ने जमिन प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको छ ।

सो क्रममा मुख्यमन्त्री गिरीसँग खजुरा क्षेत्रका स्थानीयले आफूहरूको उचित व्यवस्थापन हुने गरी काम गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री गिरीले प्रदेशको गौरव योजनाका रूपमा रहेको विश्वविद्यालयबाट प्राविधिक जनशक्ति उत्पादनमा योगदान पुग्ने भएको भन्दै सबैको सहयोग आवश्यक भएको बताए ।

त्यसक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले विश्वविद्यालय निर्माणको काम सुरु भएपछि स्थानीयवासीको व्यवस्थापन हुने विश्वास दिलाएका थिए ।

निरीक्षणका क्रममा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद सूर्य ढकाल, लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, खजुरा गाउँपालिकाका निर्वतमान अध्यक्ष किस्मतकुमार कक्षपति, नेपाली काँग्रेस खजुरा गाउँपालिका सभापति रमेश सिजाली लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १८:५४