सूचनाको शक्ति - The Power Of Information

        

कोभिडको नयाँ भेरियन्ट

सङ्क्रमित भेटिएपछि नेपालगन्जमा कोभिडविरुद्धको ‘बुस्टर खोप’

नेपालबाट रोजगारीका लागि भारतका ठूला सहरमा बसेर फर्किनेहरूको परीक्षण गर्दा निरन्तर सङ्क्रमित फेला पर्ने क्रम पनि जारी रहेको छ ।

कोभिडविरुद्धको बुस्टर डोज लगाइँदै ।

नेपालमा कोभिडको नयाँ भेरियन्ट पुष्टि भएसँगै भारतबाट फर्किनेहरूमा कोभिड सङ्क्रमण भेटिन थालेपछि नियन्त्रणका लागि नेपालगन्जमा बुस्टर डोजको खोप दिन सुरु गरिएको छ ।

कोभिड सङ्क्रमण नियन्त्रण अभियान अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकामा बुधबारदेखि कोभिड १९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतका अनुसार उपमहानगरका २३ वटै स्वास्थ्य संस्थाबाट बुधबारदेखि फाइजर बाइभ्यालेन्ट खोप दिन सुरु गरिएको हो ।

उनले देशमा कोभिडको नयाँ भेरियन्ट फेला परेसँगै भारतबाट आउनेहरूमा समेत सङ्क्रमण भेटिन थालेकाले नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन बुस्टर डोज दिन सुरु गरिएको बताए ।

कोभिड १९ विरुद्धको पहिलो शृङ्खलाको खोप पूरा गरेको तीन महिना पुगेकालाई पहिलो बुस्टर र पहिलो बुस्टर मात्रा पूरा गरेको ६ महिना पुगेकालाई दोस्रो बुस्टर दिन सुरु गरिएको नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखाका निमित्त प्रमुख बस्नेतले बताए ।

५५ वर्षमाथिका पहिलो बुस्टर लिन बाँकी रहेकालाई पहिलो बुस्टर मात्रा, स्वास्थ्यकर्मीहरू, १२ वर्ष माथिका दीर्घ रोगीहरू, गर्भवती र रोगको प्रतिरोध क्षमता कम भएका व्यक्तिहरूलाई पनि पहिलो बुस्टर मात्रा तथा यदि उल्लेखित लक्षित समूहले पहिलो बुस्टर लगाएको ६ महिना पूरा भएको छ भने दोस्रो बुस्टर डोज लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

पछिल्लो समयमा आएर भारतमा समेत कोभिडका सङ्क्रमितहरू दिनदिनै बढ्दै गएका छन् भने नेपालबाट रोजगारीका लागि भारतका ठूला सहरमा बसेर फर्किनेहरूको परीक्षण गर्दा निरन्तर सङ्क्रमित फेला पर्ने क्रम पनि जारी रहेको छ । सोही कारणले यहाँस्थित नेपाल भारत नाका जमुनाहामा कोभिड परीक्षणलाई पनि बढाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १७:३१