सूचनाको शक्ति - The Power Of Information

        

‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनको आदेश

उच्च अदालत पाटनले फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । सुदर्शन थापाले निर्देशन गरेको प्रसाद २ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।

फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

अदालत जानुअघि उनले चलचित्र विकास बोर्डमा पनि उजुरी गर्न खोजेका थिए । तर बोर्डले उजुरी दर्ता नगरेपछि पाण्डे चलचित्रको प्रदर्शन रोक्नुपर्ने माग राखेर उच्च अदालत पुगेका थिए ।

मंगलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले प्रसाद २ को प्रदर्शन रोक्न आदेश दिएको हो । उनको रिटमा थप सुनुवाइ गर्न उच्च अदालतले २६ गते दुवै पक्षलाई बोलाएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् ।

चलचित्र निर्माण सुरु हुनुअघि नै पाण्डेलाई प्रसाद २ को निर्माताका रुपमा चिनाइएको थियो । तर अहिले चलचित्रको उनको नाम छैन । फिल्म निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी  गरेको छ । उनलाई प्रहरीले खोजिरहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार ०८:२०