सूचनाको शक्ति - The Power Of Information

        

सिक्टाको निर्माण गुणस्तरहीन

सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचार मुद्दा सर्वोच्चमा

अख्तियारले विशेष अदालतको फैसला चित्त नबुझेपछि पूर्वमन्त्री तथा ठेकेदार विक्रम पाण्डे लगायतका प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

पूर्वमन्त्री तथा ठेकेदार विक्रम पाण्डे लगायतका प्रतिवादीविरुद्ध सिक्टा सिँचाइ आयोजना सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य गुणस्तरहीन भएको भन्दै यसअघि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा विशेष अदालतले प्रतिवादीहरुलाई सफाइ दिएपछि सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् । अख्तियारका अनुसार सिक्टा सिँचाइ आयोजनाको मुल नहर भत्किएको, मुल नहरको डिजाइनमै त्रुटि देखिएको, गुणस्तरहीन निर्माण कार्य गरी भ्रष्टाचार गरेको भन्ने आरोपमा विशेष अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।

अख्तियारले प्रतिवादीहरु दिलीपबहादुर कार्की, सरोजचन्द्र पण्डित, सुर्यदेव थापा क्षेत्री, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशिलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, बीरसिंह धामी, प्रकाशबहादुर कार्की, मिनराज ढकाल, रविनाथ बाबु श्रेष्ठ, आशिषभद्र खनाल, कमलप्रसाद रेग्मी, सर्वदेव प्रसाद र रमेश बस्नेत उपर भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ३ बमोजिम सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

यस्तै, प्रतिवादीहरु विक्रम पाण्डे, युवबहादुर क्षेत्री, उद्धवराज चौलागाई, हेमनिधी शर्मा र अरुणकुमार चौधरीको हकमा भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ बमोजिम सजाय माग दाबी गरिएको जनाइएको छ । यस अतिरिक्त पाण्डे र चौलागाईको हकमा सोही ऐनको दफा २३ बमोजिमसमेत सजायको माग दाबी गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १८:०७