सूचनाको शक्ति - The Power Of Information

        

जनप्रतिनिधिकै मिलेमतोमा अवैध उत्खनन गर्दा टिप्पर र जेसीभी प्रहरी नियन्त्रणमा

अवैध रूपमा ग्राभेल उत्खनन गरिरहेका बेला सशस्त्र प्रहरीले दुई वटा टिप्पर र एउटा जेसीभी नियन्त्रणमा लिएको छ ।

जिल्लाको नरहा गाउँपालिका–३ नेपाली सेनाको २७ नम्बर बाहिनीसँगै टाँसिएको जग्गाबाट अवैध रूपमा रातको समयमा ग्राभेल उत्खनन गरिरहेको अवस्थामा ना १ ख ९७७९ नम्बरको जेसीभी, ना ८ ख ५४५४ र ना ३ ख ८६६२ नम्बरको टिप्पर सशस्त्र प्रहरी गोलबजारको टोलीले नियन्त्रणमा लिएको हो ।

अवैध रूपमा उत्खनन गरिरहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले सोमबार राति करिब ११ बजेको समयमा जेसीभी र टिप्परलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंहले जानकारी दिए ।

‘सूचना पाउनासाथ हाम्रो टोली पुगेर टिप्पर र जेसीभी नियन्त्रणमा लियौँ, आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिलाई पत्र पठाइएका छौँ,’ उनले भने । समन्वय समिति प्रमुख दिनेश महतोले नियन्त्रणमा लिएको जेसीभी र टिप्परलाई कानुन बमोजिम कारबाही गर्ने बताइ ।

उनले भने, ‘विकास निर्माणको लागि ग्राभेल आवश्यक भए पनि प्रक्रिया मिचेर अवैध रूपमा रातिको समयमा उत्खनन गर्न मिल्दैन । यस्तो कार्य जोकोहीले गरेको भए पनि गलत हो । छिटै हामी बैठक बसेर यसबारे निर्णय लिन्छौँ ।’

यसअघि गत २९ फागुनमा समन्वय समितिले अनुगमनको क्रममा सोही ठाउँबाट तीनवटा स्काभेटर नियन्त्रणमा लिएको थियो । उनीहरूले जरिवाना रकम बुझाएर स्काभेटर फिर्ता ल्याएका थिए ।

खानी दर्ता, उत्खनन, भण्डारण र सञ्चालन समेतको नियमन गर्ने प्रमुख जिम्मा स्थानीय तहको भए पनि स्थानीय तह मौन देखिन्छ । उत्खनन गर्नेहरूले जनप्रतिनिधिहरूलाई पनि आर्थिक प्रभावमा पारी मनमौजी उत्खनन गरेको स्थानीयहरू बताउँछन् ।

पर्यावरण मासिने गरि जथाभाबी रुखहरू कटान गरी ग्राभेल उत्खनन गर्दा पनि जनप्रतिनिधि भने मौनता साँधेर बसेका छन् । गोलबार नगरपालिका ९ र नरहा गाउँपालिका ३ बाट ४० फिटभन्दा गहिरो खाल्डो खनी अवैधरूपमा ग्राभेल निकाल्दा पनि जनप्रतिनिधि एक पटक अनुगमन गर्न समेत पुगेका छैनन् ।

यसले पनि उनीहरूको मिलेमतोको पुष्टि भएको स्थानीय युवाहरूको भनाइ छ । नरहा गाउँपालिका अध्यक्ष रामप्रमोद यादव आफ्नो पालिकाबाट उत्खनन भएको भन्ने आफूलाई जानकारी नै नभएको बताउँछन् ।

उनी भन्छन्, ‘हाम्रो गाउँपालिकामा अहिलेसम्म एउटा पनि खानी दर्ता छैन, मलाई ग्राभेल उत्खनन भइरहेको भन्ने जानकारी पनि छैन ।’ प्रहरी र समन्वय समितिले पटक पटक टिप्पर र स्काभेटर नियन्त्रणमा लिँदासमेत जनप्रतिनिधि आफूलाई केही जानकारी नै नभएको बताउँछन् ।

वनक्षेत्रदेखि मुस्किलले २५ मिटरको दूरीबाट उत्खनन गरी वनक्षेत्रको बाटो प्रयोग गर्दा पनि वन अधिकारी मौन बस्नुले मिलेमतो रहेको पुष्टि गर्छ । जथाभाबी उत्खननका कारण वरिपरि रहेका आँपका बगैँचा र पानीका स्रोतहरू प्रभावित हुन थालेका छन् । आँपका चिचिला नअडिने र पानीका मुहान सुक्न थालेको स्थानीय किसानहरूको गुनासो छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १७:३६