प्रिय मान्छे !
धेरै धेरै सम्झना ।
लामो समयको प्रयासपछि यो पत्र लेख्दैछु । कैयौँपटक शब्दहरू कोर्दै मेटाउदै गरेँ, त्यसको लेखाजोखा म आफैँसँग छैन । खै किन हो, यस्तो लाग्छ तिम्रो सम्बोधनमा शब्दहरु पनि कम पर्न आउँछन् । किनकि हरपल हरक्षण तिमी मन मस्तिष्कमा छाउँछौ, तिमी नै तिमी नजरभरि आउछौँ । तिमीलाई नदेखुँ भनेर कयौंपल्ट आँखा बन्द गर्छु ।
तर, बन्द आँखामा तिमी झन संग्लो भएर नजर आउँछौँ । यिनै हरेक कुराको निष्कर्षले आज मलाई महसुस गराएको छ कि म त प्रेममा पो रहेछु, हो तिमीसँगको प्रेममा । यस्तो प्रेम जसको कुनै सीमा छैन,जसको कुनै अन्त्य छैन जहाँ विश्वास छ, इज्जत छ, सम्मान छ अनि पाउने आस र गुमाउने डरभन्दा पनि तिमीलाई चाहन्छु, तिमीलाई प्रेम गर्छु भन्ने कुराले नै बढी महत्त्व राख्छ ।
प्रियतम, पहिलो पटक तिमीलाई भेट्दा लागेकै थिएन कि तिमीलाई फेरि भेट्छु, तिमीसँगको प्रेमको गहिराइमा डुबुल्की मार्न पुग्छु । त्यसैले त मलाई याद नै छैन कि हामी पहिलेपटक कहिले भेटेका थियौँ भनेर । कति याद गर्ने कोसिस गर्छु । अहँ, याद नै आउँदैन बस अब त यही प्रेम सबथोक बनेको छ । यसले प्रेमको कदर गर्न सिकाएको छ । प्रेमको एहसास नै मीठो हुँदोरहेछ, चियामा चिनीको घोलजस्तै ।
साँच्चै, प्रियतम तिमी मेरो जिन्दगीको सुन्दर बहार हौ, त्यो वसन्त हौ, जो बिनामौसम पनि रंगीचंगी हरियाली छ । जसले मलाई प्रेमको गरिमा बुझाएको, प्रेमको पूजा गर्न सिकाएको छ । सोच्छु यदि तिमीसँग भेट हुँदैनथ्यो भने मैले कसरी गर्न पाउँथे होला, यति मीठो प्रेमको प्रेमिल एहसास, कसरी बुझ्थेँ होला प्रेमको यति मिठो गाथा । कोही मान्छे साँच्चै नै कसैको जिन्दगीमा सुन्दर बहार नै बनेर आउने रैछन् जस्तै ‘तिमी’ । हरेक पटकको भेटपछि, हरेक पटकको संवादपछि अझ प्रेम बढेको एहसास हुन्छ ।
थाहा छ तिमीलाई, ‘तिमीसँग भेटेपछि म साह्रै प्रेमिल हुन थालेकी छु, हर कसैलाई आफ्नो रंगमा रंगाइहाल्छु र मान्छेहरु रंगिन्छन् पनि ।’ तर, तिनीहरुलाई के थाहा, त्यो त तिम्रो प्रेमको कमाल हो भनेर’ तिम्रो प्रेमको रंग हो भनेर । हरेक कुरा आफ्नै ढंङ्गबाट सोच्ने, एउटा जिद्दी र पागल केटी पनि कसैको प्रेममा यसरी रंगिन सक्छे, सायदैले सोच्छन् होला । कहिले लागेन कि म पनि कसैसँग प्रेम गर्न सक्छु, कसैको प्रेममा पर्छु । मान्छेहरुले त्यसै भनेका हैनन् होला, प्रेममा जादु हुन्छ, शक्ति हुन्छ भनेर । त्यसैले त आज म हराएकी छु तिमीमा, रंगिएकी छु तिम्रो प्रेमको रंगमा ।
आफ्नै दुनियाँ बनाएर आफ्नै दुनियाँमा हराउने केटी म, मेरो दुनियाँमा पनि कोही आउँछ र घर बनाउँछ, कति अचम्मको कुरा छ है । मान्छेहरुले त्यसै भनेका हैनन् होला, प्रेममा जादु हुन्छ, शक्ति हुन्छ भनेर । त्यसैले त आज म हराएकी छु तिमीमा, रंगिएकी छु तिम्रो प्रेमको रंगमा । यी दिनहरुमा यो प्रेमका रंगहरु नै पर्याप्त छन् बाँच्नमा, जीवित रहनुमा नितान्त खुशीका वेगहरुमा समिश्रित छन् अव्यक्त प्रेमका भाषाहरुमा । यस्तो लाग्छ यही आकाशले गुनगुनाइरहेको छ प्रेमका मिठा गीतहरु अनि छरिरहेको छ इन्द्रेणीका सुन्दर रंगहरु…।
प्रियतम, आजसम्म जिन्दगीमा समयसँगै बाँचे, एउटा टाइमटेबल बनाएर, तर जबदेखि तिमी मेरो जिन्दगीमा आयौ, जिन्दगीमा मिठास आएको छ । आजसम्म जुन बोरिङ लाइफलाई म पर्फेक्ट सम्झेर बाँचिरहेकी थिए, त्यो जिन्दगीमा तिमी एक्साइट्मेन्ट बनेर आयौ । यस्तो लाग्छ, बस आजसम्म बाँचेकी थिएँ म, अब जिउन सुरु गर्दैछु । तिमी जिन्दगीमा आएपछी दोस्तीको, प्रेमको वास्तविक मतलव जानेँ, त्यसपछि तिम्रो नामको जादु जिन्दगीमा यसरी चल्यो कि सबथोक बिर्सन थालेँ । बस, तिमी नै तिमी याद रहन थाल्यौ नजरभरि आउन थाल्यौ ।
आजसम्म सुनेको मात्र थिए प्रेम एउटा जादु हो, तर तिम्रो आगमनले यो कुरालाई साँचो बनाइदिएको छ । आजसम्म जुन प्रेमलाई एउटा मुस्कानसहित इग्नोर गर्थेँ, आज त्यही प्रेम जिउने ‘जरिया’ बनेको छ । साँच्चै मायालु छोएछ क्यारे मलाई तिम्रो प्रेमको रंगले, तिम्रो मायालु नजर अनि प्रेमिल स्पर्शले, त्यसैले हेर त कति हसिन छन्, तिम्रो रंगले छोएका मेरा यी पलहरु जहाँ तिमी मात्र तिमी छाएका छौ मीठो प्रीत बनेर । त्यसैले त लाग्छ, तिमी छौ र त म छु, नभए तिमी बिना, म केही हैन ।
हरेक कुरा शब्दमा मात्र अभिव्यक्त नहुने रहेछन् । सक्ने जति गरेको छु, यो पत्र तिमी सुटुक्कु पढ्नु भन्छन् । ‘प्रेम लुकिछुपी लाएको मिठो ।’ अरुले यो पत्र पढोस्, हाम्रो प्रेम सस्तो बनोस्, म चाहन्न । किनकि मलाई थाहा छ प्रेम देखाउनलाई हैन, यो त महसुस गर्ने कुरा हो, अनुभूत गर्ने–गराउने कुरा हो । मनभरिको माया संगालेर मैले तिमीलाई यो पत्र कोरेकी छु, मायालु तिमी जहाँ छौ, जस्तो छौ आफ्नो ख्याल राख्नु । प्रेमप्रति विश्वास र भगवानप्रति आस्थाका साथ तिमीसँग छिट्टै भेट्ने बाचा गर्दछु ।
तिमीलाई माया गर्ने उही तिम्रो सबि…
सबि अधिकारी । दाङ