मधेश प्रदेश सरकारमा नेकपा एमालेबाट मन्त्री रहेकाहरुले आज राजीनामा दिएका छन् । एमालेबाट सरकारमा सहभागी चारजना मन्त्री र एकजना राज्यमन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री यादवले पाँचैजना मन्त्रीको राजीनामा स्वीकृत गरि उनीहरुले सम्हालेका मन्त्रालयको कार्यविभाजनसमेत गरेका छन् । एमालेले सरकारले दिएको समर्थन भने फिर्ता नलिने जनाएको छ ।
एमाले मधेश प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिएको जानकारी दिए । उनले सोमवार राति मुख्यमन्त्री यादवले फोन गरेर आफूहरुलाई राजीनामा दिन भनेपछि सरकारबाट बाहिरिएको बताए ।
केन्द्रमा एमालेसँग गठबन्धन भत्किएलगत्तै मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरुलाई सरकारबाट हटाउन चाहेका थिए । तर, बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने आशमा उनी मौन बसेका थिए ।
तर, सो क्षेत्रबाट सोमवार एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले समेत उम्मेदवारी दर्ता गराएपछि मुख्यमन्त्री यादवले एमालेबाट सहभागी मन्त्रीहरुलाई सरकार छोड्न निर्देशन दिएका थिए ।
मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानुनमन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय सहभागी थिए ।
सत्यपाटी संवाददाता । जनकपुरधाम